28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

तिब्बतमा उद्धार अभियान तीव्र, जि२१६ राजमार्ग पुनः सञ्चालन

काठमाडौं,१७ भदौ । तिब्बत क्षेत्रमा गएको भीषण बाढीका कारण अवरुद्ध भएको जि२१६ राष्ट्रिय राजमार्ग बुधबार बिहानदेखि पुनः सञ्चालनमा आएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्। राजमार्ग सञ्चालनमा आएसँगै ठूला सवारीसाधन तथा भारी उद्धार उपकरण विपद् प्रभावित क्षेत्रतर्फ लैजान थालिएको छ।

राजमार्ग खुलेपछि उद्धारकर्मीलाई विपद्को केन्द्रसम्म थप भित्री भागमा पुग्न सहज भएको चाइना मिडिया ग्रुपले जनाएको छ। गत बुधबार गएको विनाशकारी पहिरोपछि जारी उद्धार अभियानमा राजमार्ग सञ्चालनमा आउनुलाई महत्वपूर्ण प्रगतिका रूपमा लिइएको छ। चीनतर्फ पहिरोमा परी १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। कठिन भौगोलिक अवस्था, प्रतिकूल मौसम तथा ठूलो मात्रामा थुप्रिएको माटो र भग्नावशेषका बीच चिनियाँ उद्धार टोलीले खोजी अभियानलाई तीव्र बनाएको छ।

हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याइएका तिब्बत सीमा प्रहरीसहितका उद्धारकर्मीले सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा कुनै कसर बाँकी नराख्ने बताएका छन्। जिगात्से सीमा नियन्त्रण टुकडीका प्रहरी अधिकारी ये यीले खोजी अभियानलाई निरन्तर तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘हामी खोजीलाई तीव्र बनाउनेछौँ। हामी हार मान्ने छैनौँ, कसैलाई छाड्ने छैनौँ।’

घुँडादेखि कम्मरसम्म माटो, उद्धारमा चुनौती

प्रभावित क्षेत्रका कतिपय स्थानमा घुँडासम्म र कतिपय ठाउँमा कम्मरसम्म माटो जमेको उद्धारकर्मीले बताएका छन्। बाक्लो माटो र भग्नावशेषका कारण उद्धार टोलीको आवतजावत कठिन भएको छ भने नियमित खोजी उपकरणको प्रभावकारिता समेत घटेको बताइएको छ। उद्धारकर्मीले माटो तथा भग्नावशेष हटाउँदै म्यानुअल रूपमा समेत खोजी गरिरहेका छन्। सम्भावित जीवित व्यक्तिको संकेत पत्ता लगाउन ठोकेर, आवाज दिएर तथा सुनेर खोजी गर्ने गरिएको छ। त्यसैगरी, तालिमप्राप्त खोजी कुकुरलाई विभिन्न क्षेत्रमा परिचालन गरिएको छ। भग्नावशेषभित्र पुरिएका मानिसको अवस्थिति पत्ता लगाउन जीवन पत्ता लगाउने अत्याधुनिक उपकरण समेत प्रयोग भइरहेको छ। उद्धारकर्मीका अनुसार प्रभावित नाकाको सम्पूर्ण क्षेत्रमा सतहको खोजी गरिसकिएको छ भने माथिल्लो तहमा समेत पटक–पटक छानबिन भइरहेको छ। विशेषज्ञहरूले भूभागको तीव्र भिरालोपन, पहिरोको अत्यधिक गति तथा साँघुरो उपत्यकाका कारण विपद्को प्रभाव असाधारण रूपमा ठूलो भएको बताएका छन्।

सञ्चार सेवा पनि पुनःस्थापित

उद्धार अभियानसँगै प्रभावित क्षेत्रमा सञ्चार सेवा पूर्ण रूपमा पुनःस्थापित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। मंगलबार साँझसम्म एउटा बेस स्टेसन पुनः सञ्चालनमा ल्याइएको थियो भने थप १२ वटा आपत्कालीन बेस स्टेसन स्थापना गरिएको थियो। सञ्चार सेवा पुनःस्थापनाले उद्धार, राहत सामग्रीको आपूर्ति तथा अभियानको कमान्ड र समन्वयमा देखिएको सञ्चार अवरोध हटाउन सहयोग पुगेको बताइएको छ। स्थानीय दूरसञ्चार अधिकारीहरूले जमिन तथा हवाई दुवै माध्यमबाट सञ्चार सेवा उपलब्ध गराउने व्यवस्था मिलाएका छन्। यसका लागि ठूला मानवरहित विमान तथा सञ्चार रिले ड्रोन समेत परिचालन गरिएको छ। जि२१६ राजमार्ग र सञ्चार सेवा पुनः सञ्चालनमा आएसँगै उद्धार टोलीलाई प्रभावित क्षेत्रको थप भित्री भागमा पुग्न तथा भारी उपकरण प्रयोग गरी खोजी अभियान अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here