28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

भोटेकोशी बाढीपीडितका लागि पटेर्वा सुगौलीको ५ लाख ५१ हजार सहयोग

वीरगंज,१५ भदौ ।  रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पर्साको पटेर्वा सुगौली गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको यही भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट एकमुष्ट ५ लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष दिनेश प्रसाद चौधरीले कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको जानकारी दिए । प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

गाउँपालिकाले विपद् प्रभावित नागरिकको सहयोगका लागि जनप्रतिनिधिहरूको मासिक सेवा–सुविधाबाट समेत रकम कट्टा गरी आर्थिक सहयोग गर्ने जनाएको छ । त्यसैगरी, गाउँपालिकामा कार्यरत कर्मचारीहरूले पनि नेपाल सरकारको निर्णयबमोजिम सहयोग गर्ने बताइएको छ । कार्यपालिकाको निर्णयअनुसार जनप्रतिनिधि तथा कर्मचारीबाट संकलन हुने सम्पूर्ण रकम यथाशीघ्र प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा दाखिला गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउन सम्पूर्ण नागरिक, संघ–संस्था तथा सरोकारवालाहरूलाई आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघ–संस्थाबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here