28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

बारामा प्रहरीको वार्षिक प्रगति : ६२ प्रतिशत मुद्दा फर्छ्यौट, १० करोडभन्दा बढीको अवैध सामान नियन्त्रण

साउन, ३० बारा कलैया

जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/०८३ मा अपराध अनुसन्धान तथा नियन्त्रणसँगै सीमा क्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य प्रगति गरेको जनाएको छ। प्रहरीले एक वर्षको अवधिमा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा मुद्दा फर्छ्यौट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले शुक्रबार पत्रकार सम्मेलनमार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै दर्ता भएका मुद्दामध्ये करिब ६२ प्रतिशत फर्छ्यौट भएको जानकारी दिए। अझै ५ सय १८ वटा मुद्दा अनुसन्धान तथा प्रक्रियामा रहेको उनले बताए।
एसपी कुँवरका अनुसार आफ्नो नेतृत्वमा प्रहरी परिचालन भएपछि अपराध नियन्त्रण, अनुसन्धान, सीमा सुरक्षा तथा अवैध गतिविधिमाथि निगरानीलाई प्राथमिकतामा राखिएको छ। विशेषगरी खुला सीमाको फाइदा उठाउँदै हुने चोरीपैठारी र भन्सार छली नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा गस्ती तथा चेकजाँचलाई तीव्र पारिएको उनले बताए।
१० करोडभन्दा बढीको अवैध सामान बरामद
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै १० करोड ३ लाख ६८ हजार ५ सय २५ रुपैयाँ बराबरका भन्सार छलीका अवैध सामान बरामद गरिएको छ। अवैध कारोबारमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ परेका छन् भने ३३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा शंकास्पद गतिविधिमाथि नियमित निगरानी, गस्ती र चेकजाँच बढाइएको एसपी कुँवरले बताए।
बैंकिङ कसुर पनि प्रहरीका लागि चुनौती
बारामा पछिल्लो समय साइबर अपराध, बैंकिङ कसुर र घरेलु विवाद चुनौतीका रूपमा देखिएको प्रहरीको भनाइ छ। आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ कसुरसम्बन्धी १ सय ९५ वटा मुद्दा दर्ता भएकामा १ सय ३१ वटा फर्छ्यौट भएका छन्। ६४ वटा मुद्दा भने बाँकी छन्। अघिल्लो आर्थिक वर्षमा बैंकिङ कसुरसम्बन्धी १ सय ४७ वटा मुद्दा दर्ता भएका थिए।
प्रहरीले लागुऔषध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, महिला तथा बालबालिकासम्बन्धी अपराध नियन्त्रण, चोरी–तस्करी नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेको जनाएको छ।
जनशक्ति र सवारीसाधनको अभाव
जिल्ला प्रहरी कार्यालय बारामा ९ सय ५३ जनाको दरबन्दी रहे पनि हाल ८ सय ९२ जना मात्रै कार्यरत छन्। दरबन्दीअनुसार ६१ जना प्रहरी कर्मचारीको अभाव रहेको एसपी कुँवरले बताए।
जनशक्ति अभावसँगै सवारीसाधनको कमी पनि प्रहरीका लागि चुनौती बनेको उनले बताए। कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै मोटरसाइकल प्रयोग गरेर ड्युटी गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। केही अस्थायी प्रहरी पोस्ट तथा प्रहरी चौकीमा फ्यान, बेडलगायतका आधारभूत सुविधाको समेत समस्या रहेको उनले जानकारी दिए।
दुर्घटना न्यूनीकरणदेखि समुदाय–प्रहरी साझेदारीसम्म
प्रहरीले राजमार्ग, औद्योगिक क्षेत्र तथा संवेदनशील स्थानमा नियमित चेकजाँच र गस्ती बढाएको जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्नुका साथै सवारी नियम उल्लंघनमाथि निगरानी बढाइएको एसपी कुँवरले बताए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँदै नागरिकबाट प्राप्त हुने सूचना र गुनासोलाई अपराध नियन्त्रणमा उपयोग गर्ने रणनीति प्रहरीले अघि सारेको छ।
एसपी कुँवरले आगामी दिनमा नागरिकको अपेक्षाअनुसार परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीलाई आवश्यक सूचना उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरे।
उनले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी सही सूचना नागरिकसम्म पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताए।
‘नेपाल पुलिस एप्स’ मार्फत प्राप्त हुने गुनासो तथा सूचनामाथि समेत जिल्ला प्रहरी कार्यालयले आवश्यक निगरानी र समन्वय गर्दै आएको (एसपी) नरेन्द्र कुँवरले जानकारी गराए ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here