काठमाडौं,२२ साउन । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरको अनुसन्धानमा नेपाल प्रहरीको सक्रियता बढ्दै गएको छ। सरकारले प्रहरीलाई समेत यस्तो प्रकृतिका अपराध अनुसन्धान गर्ने अधिकार दिएपछि हालसम्म २८ वटा मुद्दाको अनुसन्धान सम्पन्न गरी अदालतमा अभियोजन गरिएको प्रहरीले जनाएको छ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार २०८० चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी दिएको थियो। त्यसयता प्रहरीले २८ वटा मुद्दाको अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमार्फत सम्बन्धित अदालतमा अभियोजन गरिसकेको छ।
ती मुद्दामा संलग्न ७८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आर्थिक अपराधको अनुसन्धानलाई प्राथमिकतामा राख्दै कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाइरहेको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ मा मात्रै प्रहरीले १५ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धान सम्पन्न गरेको छ। ती मुद्दामा संलग्न ५३ जना प्रतिवादी पक्राउ परेका छन्।
यसैबीच, देशभरका विभिन्न प्रहरी युनिटमा हाल ४४ वटा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अनुसन्धानको चरणमा रहेका छन्। ती मुद्दामा ३०२ जना कसुरमा संलग्न रहेको देखिएको प्रहरीको तथ्यांक छ। डीआईजी काफ्लेका अनुसार अनुसन्धानका क्रममा हालसम्म १०६ जना आरोपी पक्राउ परिसकेका छन् भने बाँकी आरोपीहरू फरार रहेका कारण उनीहरूको खोजी तथा पक्राउ अभियान जारी रहेको छ।
प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराध नियन्त्रण, अवैध सम्पत्तिको स्रोत पहिचान तथा आर्थिक अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने अभियानलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ।

