28.3 C
Birgunj
Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026
spot_img

२५० रुपैयाँको सामान किन्दा १० लाख, ९ सयको तरकारीले दिलायो १ लाख

काठमाडौं,२२ साउन । सरकारले करदातालाई बिल लिने र व्यवसायीलाई बिल दिने संस्कृतिको विकास गराउने उद्देश्यले सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत पहिलो १५ दिनको नतिजा सार्वजनिक गरिएको छ। कार्यक्रमअन्तर्गत कञ्चनपुरका एक उपभोक्ताले २५० रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन् भने रुपन्देहीकी एक महिलाले ९ सय रुपैयाँको तरकारी खरिद गरेर १ लाख रुपैयाँ पुरस्कार जितेकी छन्।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभागद्वारा सञ्चालित कार्यक्रमअन्तर्गत १५ जना एक–एक लाख रुपैयाँका विजेता तथा एक जना १० लाख रुपैयाँका बम्पर विजेता छनोट गरेका हुन्। साउन १ गतेदेखि १५ गतेसम्म अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गरेका वा नगदमा खरिद गरी विभागको प्रणालीमा भ्याट तथा प्यान बिल दर्ता गराएका उपभोक्ताहरू यस कार्यक्रममा सहभागी भएका थिए।

२५० रुपैयाँको खरिदले दिलायो १० लाख

पहिलो १५ दिनको बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्ने भाग्यमानी कञ्चनपुरको पुनर्वास नगरपालिकाका हेमराज जोशी बने। उनले शिवकृष्ण जेनरल स्टोर्सबाट २५० रुपैयाँ बराबरको सामान खरिद गरेका थिए। उनले गत साउन ७ गते क्यूआर स्क्यानमार्फत अनलाइन बैंकिङ प्रयोग गरेर भुक्तानी गरेका थिए।

विजेता घोषणा भएपछि अर्थमन्त्री डा. वाग्लेले जोशीलाई फोन गरी बधाई दिएका थिए।

फोनमा अर्थमन्त्रीले भने,
“हेमराज जी, बधाई छ। म संघीय सरकारको अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बोलेको। बिल लिने र बिल दिने बानी बसाल्न सरकारले सुरु गरेको प्रोत्साहन कार्यक्रममा तपाईंले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जित्नुभएको छ। तपाईंलाई कर कार्यालयका साथीहरूले सम्पर्क गर्नुहुन्छ।” अर्थमन्त्रीको फोन अप्रत्याशित रूपमा आएपछि केहीबेर अकमक्क परेका जोशीले खुशी व्यक्त गर्दै धन्यवाद दिएका थिए।

उनले भने,
“धेरै–धेरै धन्यवाद अर्थमन्त्रीज्यू।”

९ सय रुपैयाँको तरकारीले दिलायो १ लाख

यसैगरी रुपन्देहीकी सपना खरेलले १ लाख रुपैयाँ पुरस्कार जितेकी छन्। उनले साउन ९ गते देवदह नगरपालिका–मिलनचोकस्थित शुभसिद्धी सप्लायर्सबाट ९ सय रुपैयाँको तरकारी खरिद गरेकी थिइन्। र्थमन्त्री वाग्लेले फोनमार्फत बधाई दिँदा उनले सुरुमा विश्वास नै गर्न सकेकी थिइनन्।

फोनमा अर्थमन्त्रीले भने,
“नमस्कार सपना जी, म स्वर्णिम वाग्ले। करदाता प्रोत्साहन कार्यक्रममा तपाईंले १ लाख रुपैयाँ पुरस्कार जित्नुभएको छ। ९ सय रुपैयाँको सामान किन्नुभएको थियो?”

यसको जवाफमा सपना खरेलले भनिन्,
“ए हो र? मैले सामान त किनेको थिएँ।”

त्यसपछि अर्थमन्त्रीले उनले खरिद गरेको सामानको बिल सुरक्षित राख्न आग्रह गर्दै आन्तरिक राजस्व विभागले सम्पर्क गरेर पुरस्कार प्राप्त गर्ने प्रक्रियाबारे जानकारी दिने बताए।

अन्य विजेतासँग सम्पर्क हुन सकेन

कार्यक्रमका क्रममा अर्थमन्त्री वाग्लेले अन्य विजेताहरूलाई पनि फोनमार्फत बधाई दिने प्रयास गरेका थिए। तर अधिकांशसँग तत्काल फोन सम्पर्क हुन नसकेको जनाइएको छ।

साउन १ गतेदेखि लागू भएको थियो योजना

सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम यही साउन १ गतेदेखि कार्यान्वयनमा आएको हो। यसको मुख्य उद्देश्य उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा भ्याट तथा प्यान बिल लिन प्रोत्साहित गर्नु र कर प्रणालीलाई थप पारदर्शी तथा प्रभावकारी बनाउनु हो।

यस योजनाअन्तर्गत अनलाइन माध्यमबाट वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता स्वतः कार्यक्रममा सहभागी हुन्छन्। तर खरिद गर्दा भ्याट वा प्यान बिल लिन भने अनिवार्य गरिएको छ।

त्यसैगरी नगदमा खरिद गर्ने उपभोक्ताले सक्कल भ्याट वा प्यान बिल सुरक्षित राखेर आन्तरिक राजस्व विभागको उपहार पोर्टलमा दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

हरेक दिन र प्रत्येक १५ दिनमा पुरस्कार

सरकारले यो कार्यक्रमअन्तर्गत हरेक दिन एक जना विजेतालाई करकट्टीपछि १ लाख रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ। त्यसैगरी प्रत्येक १५–१५ दिनमा दुई जना भाग्यमानीलाई १०–१० लाख रुपैयाँ नगद उपहार प्रदान गरिनेछ।

उपहारको घोषणा प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरिनेछ।

सरकारका अनुसार १ लाख रुपैयाँको पुरस्कारमा आवश्यक कर कट्टीपछि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने १० लाख रुपैयाँको बम्पर उपहारमा पनि प्रचलित कानुनअनुसार २५ प्रतिशत कर लाग्ने व्यवस्था रहेको छ।

सरकारले यो योजनामार्फत करदातामा बिल लिने संस्कृतिको विकास गर्दै कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने लक्ष्य राखेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here