26 C
Birgunj
Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026
spot_img

भारतबाट भन्सार छली गरी ल्याइँदै गरेका मोबाइलका सामानसहित मोटरसाइकल बरामद

राजविराज(सप्तरी)२१ साउन । सप्तरी प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका विभिन्न मोबाइलका सामानसहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ। सामान ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देख्नासाथ मोटरसाइकल र बोरा छाडेर फरार भएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन २१ गते राति करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको प्रहरी टोलीले बोदेबर्साइन नगरपालिका–५, शिवा चोक सडकखण्ड मा नियमित गस्ती गरिरहेको थियो। सोही क्रममा भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरी विभिन्न मोबाइलका सामान ल्याइँदै गरेको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो।

यसै क्रममा हिरो कम्पनीको रातो–कालो रंगको १६० सीसी Xtreme मोटरसाइकल, जसमा नम्बर प्लेट समेत नभएको थियो, पछाडि बोरामा मोबाइलका सामान लोड गरी ल्याइँदै गरेको अवस्थामा प्रहरी टोलीले देखेको थियो। प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालक तथा बोरा बोकेका व्यक्तिहरू सामानसहित भाग्ने प्रयास गर्दै मोटरसाइकल र बोरा घटनास्थलमै छाडेर फरार भएका थिए।

प्रहरीले बेवारिसे अवस्थामा रहेको उक्त मोटरसाइकल तथा बोरा नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अनुसार जाँच गर्दा बोराभित्र विभिन्न मोबाइलका सामानहरू फेला परेको जनाएको छ। बरामद गरिएका मोबाइलका सामानहरूको अनुमानित मूल्य ३ लाख १२ हजार ३ सय रुपैयाँ बराबर रहेको प्रहरीको भनाइ छ। बरामद गरिएको मोटरसाइकल तथा मोबाइलका सामानलाई आवश्यक कानुनी कारबाहीका लागि साउन २१ गते नै राजविराज भन्सार कार्यालय, तिलाठी, सप्तरी मा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रहरीले अवैध रूपमा भन्सार छली गरी सामान आयात–निर्यात गर्ने गतिविधिविरुद्ध निगरानी थप कडा बनाइएको उल्लेख गर्दै यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रणका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here