26 C
Birgunj
Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026
spot_img

मनसुन अझै सक्रिय, देशभर वर्षाको सम्भावना; केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

काठमाडौं,१७ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आइतबार पनि अधिकांश क्षेत्रमा वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। यही मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि सक्रिय बनेको हो। आइतबार बिहानैदेखि कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाको पूर्वानुमानअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। मौसमविद्हरूका अनुसार निरन्तर वर्षाले नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको छ।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। मधेस प्रदेशका अधिकांश स्थानका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। यसले नदी तथा खोलानालामा पानीको सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि क्षेत्र, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने जनाएको छ। त्यसैले मौसमसम्बन्धी पछिल्ला सूचना नियमित रूपमा अद्यावधिक गर्दै आवश्यक सतर्कता अपनाउन र जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here