28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

१ अर्ब ८९ करोडको हुण्डी कारोबार आरोपमा राजेन्द्र रिजाल पक्राउ

काठमाडौं,१३ साउन । करिब १ अर्ब ९० करोड रुपैयाँ बराबरको अवैध हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ठूलो रकमको अवैध आर्थिक कारोबारमा संलग्न भएको आशंकामा एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

सीआईबीका अनुसार पक्राउ पर्नेमा धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–नागार्जुन–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका छन्। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा ठूलो रकम बराबरको हुण्डी कारोबार गरेको तथ्य फेला परेको हो।

प्रारम्भिक अनुसन्धानबाट रिजालले १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको खुलेको सीआईबीले जनाएको छ। बैंकिङ कारोबारको अध्ययन तथा अनुसन्धानका क्रममा अवैध आर्थिक गतिविधिसँग जोडिएका विवरणहरू भेटिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो। सीआईबीले अनुसन्धानका क्रममा पर्याप्त आधार फेला पारेपछि मंगलबार जिल्ला अदालत काठमाडौंसँग पक्राउ अनुमति लिएको थियो। अदालतबाट अनुमति पाएपछि सोही दिन साँझ रिजाललाई काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको एसएसपी जबराले जानकारी दिए।

प्रहरीका अनुसार रिजालमाथि संगठित रूपमा हुण्डी कारोबार सञ्चालन गरेको आशंकामा थप अनुसन्धान भइरहेको छ। साथै यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पहिचान, अवैध कारोबारको सञ्जाल र आर्थिक गतिविधिको विस्तृत विवरण पत्ता लगाउने काम पनि जारी रहेको सीआईबीले जनाएको छ।

ठूलो रकमको हुण्डी कारोबारसम्बन्धी यो घटनालाई प्रहरीले अवैध वित्तीय गतिविधिमाथिको अनुसन्धानका क्रममा महत्वपूर्ण घटनाका रूपमा लिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here