28.3 C
Birgunj
Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026
spot_img

गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौं,१२ साउन । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। उपचारका क्रममा मंगलबार काठमाडौंको हेलिस अस्पतालमा श्रेष्ठको निधन भएपछि कांग्रेसले बुधबार बिहान आकस्मिक बैठक आह्वान गरेको हो।

कांग्रेसका अनुसार केन्द्रीय कार्यसमितिको बैठक बुधबार (साउन १३ गते) बिहान साढे ८ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन आग्रह गरिएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार बैठकले स्वर्गीय नेता श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्नेछ।

यसअघि लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका श्रेष्ठको उपचारका क्रममा मंगलबार निधन भएको हो। नेपाली कांग्रेसले उनको निधनले पार्टी मात्र नभई समग्र लोकतान्त्रिक आन्दोलनमै अपूरणीय क्षति पुगेको जनाएको छ। दिवंगत नेता श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा राखिने कार्यक्रम तय गरिएको छ। पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले त्यहाँ पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने व्यवस्था मिलाइएको छ।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने कांग्रेसले जनाएको छ। लामो समय नेपाली कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन र संसदीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठको निधनप्रति पार्टीका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गरेका छन्। कांग्रेसले श्रेष्ठको योगदानलाई स्मरण गर्दै उनको निधनबाट उत्पन्न भएको क्षति अपूरणीय रहेको जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here