26 C
Birgunj
Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026
spot_img

क्यान्सरसँगको लामो संघर्षपछि कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं,१२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको मंगलबार निधन भएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले श्रेष्ठको निधन भएको पुष्टि गरेका हुन्। उनी केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए।

नेपाली कांग्रेसका अनुसार स्वर्गीय श्रेष्ठको पार्थिव शरीरलाई बुधबार बिहान श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिनेछ। पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।

पार्टीले हालै मात्रै उनको लामो राजनीतिक योगदानको सम्मान गर्दै वरिष्ठ नेताको जिम्मेवारी प्रदान गरेको थियो। विगत एक वर्षदेखि क्यान्सरबाट पीडित श्रेष्ठले नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए। स्वास्थ्य अवस्था कमजोर रहे पनि उनी गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका थिए।

स्याङ्जाबाट पटक–पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका श्रेष्ठ नेपाली राजनीतिका अनुभवी नेतामध्ये एक मानिन्थे। उनले विभिन्न समयमा भौतिक योजना, वन, उद्योग तथा शिक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै राज्यका महत्वपूर्ण मन्त्रालयको नेतृत्व गरेका थिए।

राजनीतिक जीवनमा लोकतान्त्रिक आन्दोलन र पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका श्रेष्ठले विभिन्न राजनीतिक संघर्षका क्रममा करिब पाँच वर्ष जेल जीवनसमेत बिताएका थिए। साथै, उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका थिए।

उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी, संघर्षशील र लामो राजनीतिक यात्राका धनी नेतालाई गुमाएको छ। पार्टीले उनको योगदानको उच्च सम्मान गर्दै अन्तिम श्रद्धाञ्जली कार्यक्रममार्फत सम्मान प्रकट गर्ने जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here