30.6 C
Birgunj
Date
सोम, साउन ४, २०८३
Mon, July 20, 2026
spot_img

निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड राति १० बजेदेखि बन्द

चितवन,०३ साउन ।  सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड आज (आइतबार) राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै धादिङसहित आसपासका जिल्ला तथा चितवनका विभिन्न क्षेत्रमा निरन्तर वर्षा भइरहेका कारण सडकमा पहिरो, ढुंगा खस्ने तथा अन्य प्राकृतिक विपद्का घटना हुन सक्ने उच्च जोखिम देखिएकाले सवारी आवागमन रोक्ने निर्णय गरिएको जनाएको हो।

प्रशासनका अनुसार मौसम पूर्वानुमान महाशाखाले समेत आगामी समयका लागि खराब मौसमको प्रक्षेपण गरेपछि यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा बन्द रहने जानकारी दिए। विशेषगरी रातिको समयमा सडकमा पहिरो खस्ने, ढुंगा झर्ने तथा अन्य प्राकृतिक जोखिमका कारण दुर्घटनाको सम्भावना अत्यधिक रहने निष्कर्षका आधारमा यो कदम चालिएको उनले बताए।

प्रशासनले सडक प्रयोगकर्ता, यात्रु तथा सवारी चालकलाई मौसमको अवस्था सामान्य नभएसम्म अनावश्यक यात्रा नगर्न र प्रशासनबाट जारी हुने आधिकारिक सूचना पालना गर्न आग्रह गरेको छ। अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने अवस्था आएमा सम्बन्धित निकायसँग समन्वय गरेर मात्र अघि बढ्न पनि अनुरोध गरिएको छ।

यसैबीच, कुनै आपतकालीन अवस्था, जानकारी वा समन्वयका लागि प्रशासनले सम्बन्धित निकायका सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

नेपाल प्रहरी: १००
सशस्त्र प्रहरी बल नेपाल: १११४
जिल्ला आपतकालीन सञ्चालन केन्द्र: १२३४

प्रशासनले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै मौसममा सुधार नआएसम्म तथा अर्को आधिकारिक सूचना जारी नभएसम्म उक्त सडकखण्ड प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here