काठमाडौं,०२ साउन । निरन्तरको वर्षासँगै आएको बाढीपहिरो, डुबान तथा पहिरोका कारण देशभरका विभिन्न सडक तथा राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार देशभरका छ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै विभिन्न सडकखण्डमा सुरक्षा सतर्कता अपनाइएको छ। विशेषगरी पहाडी क्षेत्रका सडकमा पहिरो खस्ने, ढुंगा–माटो बग्ने तथा सडक हिलो हुने समस्या देखिएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो। बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै गत जेठ २२ गतेदेखि बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन बन्द गरिएको हो। यस सडकमा बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सवारीसाधन सञ्चालन हुने गरेका छन्।
त्यस्तै, वर्षात्का कारण हुनसक्ने बाढीपहिरोको जोखिम न्यूनीकरण गर्न मकवानपुरस्थित कान्ति लोकपथमा पनि रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार उक्त सडकखण्डमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्ले का अनुसार इलामको मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उनका अनुसार गत असार २३ गतेदेखि इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा वर्षाका कारण सडक हिलो भएपछि सवारीसाधन सञ्चालन हुन नसकेको हो।
त्यस्तै, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक पनि ढुंगासहितको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। गत असार २८ गतेदेखि पाणिनी गाउँपालिका–२ ढुङ्गेखोला क्षेत्रमा सडक माथिबाट ढुंगा खसेपछि यातायात प्रभावित बनेको हो। यसैगरी, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। गत असार ३१ गते भोटेकोशी गाउँपालिका–४ जिरोकिला क्षेत्रमा सडक माथिबाट पहिरो खसेपछि उक्त सडकखण्ड अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गको इकु क्षेत्रमा पनि पहिरो खसेर आवागमन बन्द भएको छ। उक्त स्थानमा सडक माथिबाट ढुंगा, माटो र लेदो खसेपछि यातायात पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ। यता, बागलुङको कालीगण्डकी करिडोर समेत पहिरोका कारण अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा सडक माथिबाट ढुंगा र माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायामको समयमा सडक यात्रा गर्दा सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। साथै अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

