28.3 C
Birgunj
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
spot_img

सीमा सुरक्षामा कडाइ, सिराहामा लाखौँ मूल्यका अवैध सामान बरामद

सिराहा,०२ साउन । नेपाल–भारत सीमा क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाउँदै सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाले करिब १५ लाख ४९ हजार रुपैयाँ बराबरका भन्सार छलीका विभिन्न सामान बरामद गरेको छ। बरामद गरिएका सामान आवश्यक कानुनी कारबाहीका लागि सिराहा भन्सार कार्यालयमा बुझाइएको छ।

सशस्त्र प्रहरीले शुक्रबार नियमित सीमा गस्तीका क्रममा नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानबाट किराना सामान, कपडा, मदिरा तथा विभिन्न पेय पदार्थ सहित दुई थान मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएका सामान र सवारी साधनको कुल मूल्य रु १५ लाख ४८ हजार ८७० रहेको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाका सूचना अधिकारी सीयाराम चौधरी का अनुसार गस्ती टोलीले बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरका मोटरसाइकलसहित उक्त सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै सामग्री आवश्यक प्रक्रिया पूरा गरी थप कारबाहीका लागि सिराहा भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

प्रहरीका अनुसार सीमा क्षेत्र हुँदै भारतबाट नेपालतर्फ कपडा, किराना तथा अन्य उपभोग्य सामग्री अवैध रूपमा भित्र्याउने तथा नेपालबाट भारततर्फ मदिरा ओसारपसार गर्ने गतिविधि हुँदै आएको छ। यस्ता गैरकानुनी कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा नियमित गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा क्षेत्रमा भइरहेको अवैध व्यापार नियन्त्रणका लागि सशस्त्र प्रहरीले पछिल्लो समय निगरानी कडा बनाएको छ। त्यसको परिणामस्वरूप ठूलो परिमाणमा भन्सार छलीका सामान बरामद हुने क्रम जारी रहेको देखिएको छ।

सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वार्टर सिराहाका अनुसार गत असार महिनामा मात्रै रु १ करोड ५६ लाख बराबरका चोरी पैठारीका सामान बरामद गरी सिराहा भन्सार कार्यालयमा बुझाइएको थियो। यसले सीमा क्षेत्रमा अवैध ओसारपसारविरुद्ध सुरक्षाकर्मीले सञ्चालन गरेको अभियान प्रभावकारी बन्दै गएको संकेत गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here