28.7 C
Birgunj
Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026
spot_img

मकवानपुरमा घरमै पुग्न थाल्यो राहदानी, २०० सेवाग्राही लाभान्वित

काठमाडौँ,२४ असार । सरकारले शासकीय सुधारअन्तर्गत अघि बढाएको सयदिने कार्यसूचीको महत्वपूर्ण कार्यक्रम ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी रूपमा कार्यान्वयन हुन थालेको छ। नागरिकलाई सहज, छिटो र नागरिकमैत्री सेवा उपलब्ध गराउँदै सरकारप्रति विश्वास र भरोसा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानमार्फत मकवानपुरमा हालसम्म करिब २०० सेवाग्राहीको घरमै राहदानी पुर्‍याइएको छ।

जिल्ला हुलाक कार्यालय मकवानपुरका प्रमुख रमेश लामिछानेका अनुसार राहदानी वितरणलाई थप सहज र प्रभावकारी बनाउन हुलाक सेवामार्फत घरमै राहदानी पुर्‍याउने व्यवस्था सफलतापूर्वक सञ्चालन भइरहेको छ। उनले राहदानी घरमै प्राप्त गर्न चाहने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमै रहेका हुलाक सेवाका कर्मचारीमार्फत पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पीआइटिएस) प्रयोग गरी ५५ रुपैयाँ सेवा शुल्क बुझाउने व्यवस्था रहेको जानकारी दिए।

लामिछानेका अनुसार राहदानी विभागबाट राहदानी जिल्ला हुलाक कार्यालयमा प्राप्त भएपछि हुलाक कार्यालयका कर्मचारी स्वयं सम्बन्धित सेवाग्राहीको घरमा पुगेर राहदानी हस्तान्तरण गर्ने गरेका छन्। यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समय र खर्च दुवैको बचत भएको छ।

सरकारले सार्वजनिक सेवा प्रवाहलाई आधुनिक, सहज र प्रविधिमैत्री बनाउने लक्ष्यसहित ‘सरकारी सेवा घरघर’ अभियान सञ्चालन गरेको हो। यस अभियानले नागरिकलाई आवश्यक सरकारी सेवा उनीहरूकै घरदैलोमा उपलब्ध गराउने अवधारणालाई व्यवहारमा उतार्न थालेको देखिएको छ।

उल्लेखनीय रूपमा, मन्त्रिपरिषद्को २०८२ चैत १३ गते बसेको बैठकले शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूची स्वीकृत गरेको थियो। उक्त कार्यसूचीको २७औँ बुँदामा हुलाक सेवालाई आधुनिकीकरण गर्दै ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने र त्यसमार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत विभिन्न सरकारी कागजात तथा सामग्री सेवाग्राहीको घरमै पुर्‍याउने व्यवस्था सय दिनभित्र लागू गर्ने लक्ष्य तय गरिएको थियो।

सोही निर्णयअनुसार मकवानपुरमा अभियान प्रभावकारी रूपमा कार्यान्वयन हुँदै आएको र नागरिकले यसको प्रत्यक्ष लाभ लिन थालेको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here