29.9 C
Birgunj
Date
बुध, असार २४, २०८३
Wed, July 8, 2026
spot_img

गहवामाई रथयात्रामा सहभागी हुन भक्तजनलाई आयोजकको आह्वान

वीरगंज,२३ असार । वीरगंजस्थित प्रसिद्ध गहवामाई मन्दिरबाट हरेक वर्ष आयोजना हुँदै आएको श्री गहवामाई रथयात्रा–२०८३ को तयारीलाई तीव्रता दिइएको छ। आगामी असार ३२ गते (१६ जुलाई २०२६, बिहीबार) आयोजना हुने रथयात्रालाई भव्य, व्यवस्थित र श्रद्धामय बनाउने उद्देश्यका साथ आयोजक श्री गहवामाई तीर्थ क्षेत्र विकास समिति ले भक्तजनलाई निमन्त्रणा वितरण अभियान सुरु गरेको जनाएको छ।

समितिका अनुसार नेपाल तथा भारतका विभिन्न स्थानका श्रद्धालु तथा भक्तजनलाई रथयात्रामा सहभागी गराउन विशेष अभियान सञ्चालन गरिएको छ। यसअन्तर्गत रथयात्रा कार्यसमितिका सदस्यहरू घर–घर पुगेर निमन्त्रणा वितरण गरिरहेका छन्।

रथयात्रा सहयोगी प्रभु साहका अनुसार श्री गहवामाई रथयात्रा कार्यसमिति का सदस्यहरूले स्थानीयस्तरदेखि बाहिरी क्षेत्रसम्मका भक्तजनलाई निमन्त्रणा प्रदान गर्दै धार्मिक उत्सवमा सहभागी हुन आग्रह गरिरहेका छन्। उनले रथयात्रामा अधिकतम श्रद्धालुको सहभागिता सुनिश्चित गरी धार्मिक कार्यक्रमलाई भव्य र सफल बनाउने लक्ष्यका साथ निमन्त्रणा अभियान सञ्चालन गरिएको जानकारी दिए।

आयोजक समितिले वीरगंज तथा आसपासका सम्पूर्ण भक्तजनलाई परिवारसहित रथयात्रामा सहभागी हुन आह्वान गर्दै भजन–कीर्तन, छप्पन भोग तथा महाप्रसाद भण्डारामा सहभागी भई धार्मिक पुण्य लाभ लिन अनुरोध गरेको छ।

समितिले सार्वजनिक गरेको कार्यक्रम तालिका अनुसार असार ३२ गते (१६ जुलाई) बिहान ७ः३० बजेदेखि रथयात्रा प्रारम्भ हुनेछ। सोही दिन साँझ ६ः०० बजेदेखि भजन–कीर्तनको आयोजना गरिनेछ।

त्यसैगरी साउन १ गते (१७ जुलाई) बिहान ६ः०० बजेदेखि छप्पन भोगको कार्यक्रम सञ्चालन हुनेछ भने सोही दिन साँझ ४ः०० बजेदेखि महाप्रसाद भण्डारा आयोजना गरिने कार्यक्रम रहेको समितिले जनाएको छ।

रथयात्रा तथा अन्य धार्मिक कार्यक्रमहरूलाई सफलतापूर्वक सम्पन्न गर्न इच्छुक भक्तजन तथा सहयोगीहरूले आर्थिक सहयोग गर्न सक्ने व्यवस्था समेत गरिएको छ। समितिका अनुसार सहयोग गर्न चाहने भक्तजनले ग्लोबल आईएमई बैंक लिमिटेड, वीरगंज शाखा मा रहेको खाता नम्बर ०११०७०१०२६१०२८ मा रकम जम्मा गर्न वा उपलब्ध गराइएको क्यूआर कोडमार्फत सहयोग गर्न सक्नेछन्।

हरेक वर्ष हजारौँ श्रद्धालुको सहभागिता रहने श्री गहवामाई रथयात्रा वीरगंजको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ। यस वर्ष पनि रथयात्रालाई अझ व्यवस्थित, भव्य र आकर्षक बनाउने तयारी भइरहेको आयोजक समितिले जनाएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here