वीरगंज,१८ असार । वीरगंज महानगरपालिकामा विगत करिब छ महिनादेखि रोकिएको विपद् राहत वितरण प्रक्रिया पुनः अघि बढाइएको छ। आगलागी, बाढी तथा हावाहुरीबाट प्रभावित १५ परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको हो।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको पहलपछि विपद् व्यवस्थापन शाखामा परेका निवेदनमाथि आवश्यक छानबिन गरी राहत वितरण प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ। कार्यवाहक प्रमुख आलमको निर्देशनपछि वडा नं. १४, १७, १९ र २६ लगायतका क्षेत्रमा प्राकृतिक विपद्का कारण भौतिक क्षति व्यहोरेका वास्तविक पीडितहरूको पहिचान गरिएको थियो।
पीडितहरूको निवेदन तथा क्षतिको अवस्थाका आधारमा प्रतिपरिवार ५ हजारदेखि २५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय गरिएको छ। यससँगै लामो समयदेखि राहतको प्रतीक्षामा रहेका प्रभावित परिवारले अब राहत पाउने भएका छन्। विपद् व्यवस्थापन शाखा प्रमुख विभा मिश्राका अनुसार कार्यवाहक प्रमुख आलमको समन्वय र निर्देशनपछि प्रशासनिक प्रक्रिया तीव्र रूपमा अघि बढाइएको हो। उनका अनुसार केही दिनभित्रै राहत रकम सम्बन्धित पीडित परिवारलाई वितरण गरिनेछ।
कार्यवाहक प्रमुख आलमले प्राकृतिक विपद्मा परेका नागरिकलाई महानगरले आगामी दिनमा पनि आवश्यक सहयोग र राहत उपलब्ध गराउन प्रतिबद्ध रहेको बताएका छन्।

