33.6 C
Birgunj
Date
शनि, असार ६, २०८३
Sat, June 20, 2026
spot_img

सडक सुरक्षाका लागि कडाइ, वीरगंजमा ५ चालकमाथि कारबाही

वीरगंज,०५ असार । वीरगंज महानगरपालिका–१४ स्थित गण्डक क्षेत्रमा सञ्चालन गरिएको विशेष लापरवाहीपूर्वक सवारी सञ्चालन (लापसे) चेकजाँच अभियानका क्रममा ५ जना चालकलाई नियन्त्रणमा लिइएको छ। सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा विभिन्न निकायको संयुक्त सहभागिता रहेको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नारायणी अस्पताल वीरगंजको संयुक्त सहकार्यमा बिहीबार चेकजाँच कार्यक्रम सञ्चालन गरिएको हो। पथलैया–वीरगंज सडकखण्डमा गुड्ने निजी तथा सार्वजनिक सवारीसाधनका चालकहरूको स्वास्थ्य अवस्था तथा सवारी सञ्चालनको अवस्थाबारे परीक्षण गरिएको प्रहरीले जनाएको छ।

अभियानका क्रममा २२ वटा सवारीसाधनका चालकहरूको लापसे परीक्षण गरिएको थियो। परीक्षणका क्रममा १ वटा निजी तथा ४ वटा सार्वजनिक सवारीसाधनका चालक गरी कुल ५ जनामा लापसे सम्बन्धी समस्या देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जाँचमा समस्या देखिएका चालकहरूलाई तत्काल नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। सम्बन्धित कानुनी प्रक्रिया अनुसार उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही अघि बढाइने जनाइएको छ।

ट्राफिक प्रहरीले सवारी चालकहरूको लापरवाही, असावधानी तथा असुरक्षित सवारी सञ्चालनका कारण हुने दुर्घटनालाई न्यूनीकरण गर्न यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ। साथै चालकहरूलाई जिम्मेवार र सुरक्षित ढंगले सवारी सञ्चालन गर्न सचेत गराउँदै आगामी दिनमा पनि यस्ता विशेष चेकजाँच अभियानलाई निरन्तरता दिइने जनाएको छ।

सडक सुरक्षा सुनिश्चित गर्न र यात्रुलाई सुरक्षित यात्रा वातावरण उपलब्ध गराउन ट्राफिक प्रहरी, स्वास्थ्य संस्था तथा सुरक्षा निकायबीचको समन्वयमा यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुँदै जाने प्रहरीको भनाइ छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here