काठमाडौं,०१ असार । चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ।
उनीहरूबीच सोमबार बेइजिङमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल ‘एक्स’ मा प्रतिक्रिया दिँदै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको बताएका छन्।
भेटवार्तामा रास्वपा र सिपिसीबीच सहकार्य विस्तार गर्ने तथा नेपाल र चीनका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ।
मन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका हुन्।

