34.6 C
Birgunj
Date
आइत, जेष्ठ २४, २०८३
Sun, June 7, 2026
spot_img

वीरगंजमा रास्वपा अधिवेशन तनावग्रस्त, कुटाकुटमा ३ जना घाइते

वीरगंज,२३ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्र चर्किएको विवाद झडपमा परिणत हुँदा तीन जना कार्यकर्ता घाइते भएका छन्। घटनापछि अधिवेशनको निर्वाचन प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको छ।

आइतबार हुने जिल्ला अधिवेशनका लागि वीरगंज–९ स्थित होटल गेटवे वीरगंजमा शनिबार प्रतिनिधि चयन तथा निर्वाचन प्रक्रिया चलिरहेका बेला पार्टीका दुई पक्षबीच विवाद चर्किएर हानाहानको अवस्था सिर्जना भएको हो। झडपमा वीरगंज–१४ का ३८ वर्षीय महादेवप्रसाद कुर्मी, वीरगंज–१ का ४० वर्षीय वीरेन्द्र साह र वीरगंज–२ का ४० वर्षीय रन्दिप श्रीवास्तव घाइते भएका छन्। उनीहरूको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको छ। यसअघि शनिबार दिउँसो महादेवप्रसाद कुर्मी, केन्द्रीय महाधिवेशन प्रतिनिधि सुधिर पटेल, क्षेत्रीय सभापति राम आर्यलगायतको समूहले जिल्ला अधिवेशन स्थगित गर्न माग गर्दै मधेश प्रदेश उपसभापति तथा निर्वाचन समिति सदस्य राधिका न्यौपानेलाई ज्ञापनपत्र बुझाएका थिए।

उनीहरूले जिल्ला सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का सांसद हरि पन्त पक्षले पार्टीको विधान र पद्धतिविपरीत आफ्ना निकट व्यक्तिलाई एकलौटी रूपमा प्रतिनिधि बनाएको आरोप लगाएका छन्। ज्ञापनपत्र प्राप्त भएपछि निर्वाचन समितिले करिब दुई घण्टासम्म प्रक्रिया स्थगित गरेको थियो। तर प्रक्रिया पुनः सुरु भएपछि निर्वाचन कार्यालय रहेको होटल परिसरमै दुई पक्षबीच विवाद चर्किएको थियो। प्रत्यक्षदर्शीका अनुसार होटलभित्र सुरु भएको विवाद सडकसम्म पुगेको थियो। झडपका क्रममा केही व्यक्तिले एकअर्कामाथि हेल्मेटसमेत प्रहार गरेका थिए। स्थिति नियन्त्रणबाहिर जान थालेपछि प्रहरीले लाठीचार्ज गरी भिड तितरबितर पारेको थियो।

निर्वाचन समितिका संयोजक डा. नन्दन यादवले कार्यकर्ताबीच झडप भएपछि निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित गरिएको जानकारी दिए। उनका अनुसार प्रक्रिया आइतबार बिहान ८ बजेदेखि पुनः सञ्चालन गरिनेछ। रास्वपा पर्साभित्र पालिका अधिवेशनदेखि नै देखिएको आन्तरिक विवाद जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा थप सतहमा आएको छ। जिल्ला सभापति तथा सांसद हरि पन्तले अधिवेशन बिथोल्ने उद्देश्यले घटना गराइएको दाबी गरेका छन्।

पर्सामा रास्वपाभित्र हाल दुई स्पष्ट समूह सक्रिय छन्। एक समूहको नेतृत्व संस्थापक जिल्ला सभापति हरि पन्तले गर्दै आएका छन् भने अर्को समूहमा सांसदहरू सुशील साह कानु, रमाकान्त चौरसिया र टेकबहादुर शाक्य रहेका छन्। उक्त समूहको नेतृत्व सुधिर पटेलले गर्दै आएका छन्। जिल्ला सभापति पदका लागि हरि पन्त र सुशील साह कानु मुख्य दाबेदारका रूपमा देखिएका छन्। प्रतिनिधि चयन विवाद र नेतृत्व प्रतिस्पर्धाका कारण अधिवेशनअघि नै पार्टीभित्रको गुटगत संघर्ष सार्वजनिक रूपमा छताछुल्ल भएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here