34.8 C
Birgunj
Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026
spot_img

ई–स्कुटरको ब्याट्री पड्किँदा वीरगंजको गढीमाई लजमा आगलागी

वीरगंज,२१ जेष्ठ । वीरगंज महानगरपालिका–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिक रहेको गढिमाई लजमा पार्किङ गरिएको एक ई–स्कुटरको ब्याट्री अचानक पड्किँदा आगलागी भएको छ। बिहीबार बिहान करिब ७ बजे भएको उक्त घटनामा स्कुटर पूर्ण रूपमा जलेर नष्ट हुनुका साथै लजका विभिन्न सामग्रीमा समेत उल्लेखनीय क्षति पुगेको छ।

मधेश प्रदेश ०३–०३९ प १४४३ नम्बरको ई–स्कुटर लज अगाडि पार्किङ गरिएको अवस्थामा रहेको बेला एक्कासि ब्याट्रीबाट धुवाँ निस्किन थालेको र त्यसपछि विस्फोटजस्तै आवाजसँगै आगो लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगो तीव्र गतिमा फैलिँदै स्कुटरसँगै लजभित्र रहेका चौकी, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा, होर्डिङ बोर्डलगायतका सामग्रीमा पुगेको थियो।

लज तथा स्कुटरका धनी किशन साह कानुका अनुसार स्कुटरमा कुनै असामान्य संकेत नदेखिएको अवस्थामा अचानक धुवाँ निस्किएको थियो। केही क्षणमै ठूलो आवाजसहित आगो सल्किएर वरपरका संरचना तथा सामग्रीमा फैलिएको उनले बताए। आगलागीका कारण लजभित्र रहेका बहुमूल्य सामग्री जलेर नष्ट भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगंज महानगरपालिकाको दमकल टोली घटनास्थलमा पुगेको थियो। सुरक्षाकर्मी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिन सफल भए पनि स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने लजका विभिन्न सामग्रीमा पनि ठूलो क्षति पुगेको बताइएको छ।

आगलागीको घटनापछि विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्रीको सुरक्षा र गुणस्तरबारे पुनः प्रश्न उठेको छ। पीडित पक्षले घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायबाट प्राविधिक अनुसन्धान गरिनुपर्ने माग गरेको छ।

पछिल्लो समय देशका विभिन्न स्थानमा विद्युतीय सवारीसाधनका ब्याट्रीसँग सम्बन्धित समस्या तथा आगलागीका घटनाहरू सार्वजनिक भइरहेका बेला वीरगंजको यो घटनाले पनि ई–स्कुटरको सुरक्षा मापदण्ड, ब्याट्रीको गुणस्तर तथा प्रयोगसम्बन्धी सावधानीबारे गम्भीर अध्ययन र निगरानी आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here