वीरगंज,१९ जेष्ठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले ४ लाख १५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले मंगलबार सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो। अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार लिखतसम्बन्धी कसुर मुद्दामा ४ लाख रुपैयाँ र झुट्टा विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा १५ हजार रुपैयाँ धरौटी माग गरिएको छ।
मेयर सिंहको पक्षबाट वरिष्ठ अधिवक्ता रामेश्वर सेढाई, अधिवक्ता कमल मोहन पोखरेल तथा प्रमोद साहले बहस गरेका थिए। जाहेरवालाको तर्फबाट अधिवक्ता चन्द्रिका पटेलसहितका कानुन व्यवसायीले बहस गरेका थिए भने नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता मनोज कुमार गुप्ताले बहस गरेका थिए।
वीरगंजका स्थानीय लियाकत अलीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दा अदालतमा दर्ता भएको हो। सिंहमाथि झुट्टा विवरण पेश गरी नागरिकता बनाएको तथा लिखत किर्ते गरेको आरोप लगाइएको छ।
यसअघि पर्सा प्रहरीले मंगलबार बिहान सिंहलाई पर्साकै ठोरी क्षेत्रबाट नियन्त्रणमा लिएर अदालतमा उपस्थित गराएको थियो।
उक्त मुद्दामा मेयर सिंहसँगै उनकी कान्छी श्रीमती रिता भट्टराई तथा वीरगञ्ज–३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायलाई पनि प्रतिवादी बनाइएको छ।


