वीरगंज,१० जेष्ठ । नेपाल पत्रकार महासंघ पर्साले पत्रकार आचारसंहितासम्बन्धी एकदिने अनुशिक्षण कार्यक्रम आयोजना गर्दै नयाँ पुस्ताका पत्रकारहरूलाई जिम्मेवार, निष्पक्ष र मर्यादित पत्रकारिताको अभ्यास गर्न प्रेरित गरेको छ । महासंघको सभाहलमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत नयाँ पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 
नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन महासंघका केन्द्रीय सचिव अशोक तिवारीले गरेका थिए । उद्घाटन मन्तव्यका क्रममा सचिव तिवारीले पत्रकारिता पेशा केवल सूचना सम्प्रेषणको माध्यम मात्र नभई समाजप्रतिको जिम्मेवारी र विश्वाससँग जोडिएको क्षेत्र भएकाले पत्रकारहरूले सदैव पेशागत मर्यादा र आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिए ।
उनले पत्रकारले आफ्नो व्यवहार, प्रस्तुति र समाचार सम्प्रेषणप्रति सचेत रहन नसके आलोचना र अविश्वासको सामना गर्नुपर्ने उल्लेख गर्दै सत्य, निष्पक्षता तथा जिम्मेवार पत्रकारितालाई प्राथमिकतामा राख्न आग्रह गरे । साथै उनले सरकारले गरेको आर्थिक नाकाबन्दीविरुद्ध नेपाल पत्रकार महासंघ आन्दोलनरत रहेको जानकारी दिँदै आन्दोलनका कार्यक्रमहरू सफल बनाउन सम्पूर्ण पत्रकारलाई सक्रिय सहभागिताका लागि आह्वान समेत गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जारा, महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चौहान, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायतले पत्रकारिताको वर्तमान अवस्था, चुनौती र जिम्मेवारीबारे आफ्ना धारणा राखेका थिए । वक्ताहरूले पत्रकारितामा विश्वसनीयता कायम राख्न आचारसंहिताको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताएका थिए ।
अनुशिक्षण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले प्रशिक्षण दिएका थिए । उनले पत्रकार आचारसंहिताको व्यवहारिक पक्ष, समाचार सम्पादन गर्दा अपनाउनुपर्ने सावधानी, तथ्य पुष्टि गर्ने प्रक्रिया, सामाजिक सञ्जालको प्रयोग तथा वर्तमान पत्रकारितामा देखिएका चुनौतीबारे विस्तृत सहजीकरण गरेका थिए ।
लामिछानेले पत्रकारितामा सत्यतथ्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै गलत सूचना र अपुष्ट सामग्री सम्प्रेषणले सञ्चारमाध्यमको विश्वसनीयतामा गम्भीर असर पार्ने बताए । उनले जिम्मेवार समाचार सम्प्रेषण, सञ्चारमाध्यमप्रतिको जनविश्वास तथा पत्रकारको पेशागत मर्यादालाई सुदृढ बनाउन पत्रकार स्वयं सचेत र उत्तरदायी हुनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानले गरेका थिए । सहभागी पत्रकारहरूले अनुशिक्षण कार्यक्रम पत्रकारिताको व्यवहारिक पक्ष बुझ्न तथा पेशागत दक्षता अभिवृद्धि गर्न उपयोगी रहेको प्रतिक्रिया दिएका थिए ।

