काठमाडौँ,०७ जेष्ठ । श्रम संस्कृति पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गरेको छ ।
आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसद्को कारबाही अघि बढाएको भन्दै उक्त पार्टीले बैठक बहिष्कार गरेको हो । पार्टीका सांसदहरूले सभामुखको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद् बहिष्कार गर्ने निर्णय लिएका हुन् ।
संसद् बैठकमा भने अन्य प्रतिपक्षी दलहरूले नाराबाजी जारी राखेका छन् । विभिन्न मागहरूलाई सम्बोधन नगरी संसदीय प्रक्रिया अगाडि बढाइएको भन्दै उनीहरूले विरोध जनाइरहेका छन् ।
संसद् परिसरभित्रको तनावपूर्ण अवस्थाबीच बैठक सञ्चालन भए पनि प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजीले कार्यवाही प्रभावित भएको देखिएको छ ।
श्रम संस्कृति पार्टीले आफ्नो माग सम्बोधन नभएसम्म संसदीय गतिविधिमा सहभागी नहुने अडान दोहोर्याएको छ ।

