काठमाडौँ ,०७ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा रहेको रानीसैन भूमिको विवादलाई यथाशीघ्र समाधान गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खनालले बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीमाथि भएको अभद्र व्यवहार तथा कुटपिटको घटनाप्रति संसद्को गम्भीर ध्यानाकर्षण गराएका हुन् । 
सांसद खनालले उक्त क्षेत्र साइपाल हिमालको पूर्वी बेस क्याम्पसमेत रहेको उल्लेख गर्दै यो क्षेत्र बहुमूल्य जडीबुटी तथा दुर्लभ वन्यजन्तुको प्राकृतिक भण्डार भएको बताए । उनले सोही जैविक विविधताको फाइदा उठाउँदै तस्करहरूले वर्षौँदेखि राज्यलाई कर छलेर अवैध चोरी तस्करीको सञ्जाल सञ्चालन गरिरहेको आरोप पनि लगाए ।
संसद्मा बोल्दै उनले भने, ‘त्यस संवेदनशील क्षेत्रमा सुरक्षाका लागि प्रहरी चौकी स्थापना गर्न र पर्यटकहरूको चहलपहल बढाउन पहल भइरहेको थियो । तर, सुरक्षा निकायको उपस्थिति भएमा आफ्नो अवैध साम्राज्य ध्वस्त हुने डरले तस्कर र अराजक समूहले चौकी स्थापनाका लागि अग्रसरता लिने स्थानीय वडा सदस्यसहितको टोलीलाई कुटपिट गरी बन्धक बनाएका थिए भन्ने खबर प्राप्त भएको छ ।’
उनले जनताबाट प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिहरू नै स्थानीय क्षेत्रको विकास र पर्यटकीय प्रवर्द्धनका काममा खटिँदा समेत असुरक्षा र हिंसाको सामना गर्नुपर्ने अवस्था अत्यन्त गम्भीर रहेको बताए । यसले सम्पूर्ण जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको उनको भनाइ थियो ।
सांसद खनालले रानीसैन क्षेत्रको सीमा विवादलाई दीर्घकालीन रूपमा समाधान गर्न गृह मन्त्रालय, भूमिसुधार मन्त्रालय, नेपाल प्रहरी तथा सम्बन्धित सबै प्रशासनिक निकायलाई तत्काल ठोस कदम चाल्न आग्रह गरे ।
उनले प्रत्येक नागरिकले सुरक्षित रूपमा जीवनयापन गर्न पाउने तथा स्वतन्त्रतापूर्वक बाँच्न पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

