काठमाडौँ,०४ जेष्ठ । युवा सशक्तीकरण र शिक्षाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै एनसेल फाउन्डेसन ले प्रोजेक्ट शिक्षासँगको सहकार्यमा यस वर्ष पनि देशभरका एसईई उत्तीर्ण विद्यार्थीका लागि ‘एनसेल एसईई छात्रवृत्ति’ कार्यक्रम घोषणा गरेको छ । 
कार्यक्रमअन्तर्गत १०० जना विद्यार्थीलाई कक्षा ११ र १२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिनेछ । विद्यार्थी छनोट सातै प्रदेशमा सञ्चालन हुने लिखित परीक्षा र अन्तर्वार्ताको आधारमा गरिनेछ । आर्थिक अवस्था कमजोर भए पनि उच्च शिक्षा हासिल गर्ने चाहना र क्षमता भएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । छात्रवृत्तिसँगै चयन भएका विद्यार्थीले १२ महिनासम्म निःशुल्क डेटा र भ्वाइस सेवासहितको सञ्चार सुविधा पनि प्राप्त गर्नेछन्, जसले उनीहरूको अध्ययन तथा अवसरसँगको पहुँचलाई थप सहज बनाउने विश्वास गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी निर्देशक विशाखा लक्ष्मी खड्काले शिक्षा देशको भविष्य निर्माणको आधार भएकाले प्रतिभाशाली विद्यार्थीलाई अवसरसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । यस अभियानमा हन्ड्रेड ग्रुपद्वारा सञ्चालित प्रोजेक्ट शिक्षा ले थप ५० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनेछ । सन् २०१७ देखि सञ्चालनमा रहेको यस कार्यक्रमले देशभरका एसईई उत्तीर्ण विद्यार्थीलाई गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्दै आएको छ ।
गत वर्ष पनि एनसेल फाउन्डेसनले यही कार्यक्रममार्फत ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको थियो । ती विद्यार्थीहरू हाल विभिन्न शैक्षिक संस्थामा कक्षा १२ अध्ययनरत रहेको जनाइएको छ ।

