33 C
Birgunj
Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
spot_img

आईएसओ सर्टिफाइड बन्यो नेशनल मेडिकल कलेज शिक्षण अस्पताल

वीरगंज,०३ जेष्ठ । मधेश प्रदेशकै अग्रणी शिक्षण अस्पतालमध्ये एक नेशनल मेडिकल कलेज शिक्षण अस्पताल ले अन्तर्राष्ट्रिय गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत आईएसओ (ISO) प्रमाणीकरण प्राप्त गरेको छ । अस्पतालले यो उपलब्धिलाई संस्थागत सुधार, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाहको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ । 

अस्पताललाई रोयल ईम्प्याक्ट सर्टिफिकेशन लिमिटेडका निर्देशक रोशन श्रेष्ठ ले औपचारिक रूपमा आईएसओ प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । अस्पतालका अनुसार स्थापना भएको लामो समयपछि मधेश प्रदेशमा रहेको शिक्षण अस्पतालमध्ये नेशनल मेडिकल कलेजले पहिलो पटक आईएसओ गुणस्तर व्यवस्थापन प्रणालीअन्तर्गत सर्टिफाइड हुने गौरव हासिल गरेको हो ।

अस्पतालका प्रबन्ध निर्देशक शाहवनाज अंसारी ले आईएसओ प्रमाणपत्र प्राप्तिसँगै अस्पताल अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा थप स्थापित भएको बताए । उनले अस्पतालको सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिक तथा व्यवस्थापन टोलीको निरन्तर मेहनत, अनुशासन र व्यवस्थापन सुधारका कारण यो उपलब्धि सम्भव भएको उल्लेख गरे ।

उनले अस्पतालले विगत केही वर्षदेखि सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । गुणस्तर सुनिश्चितता, व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा बिरामीमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरिएको उनको भनाइ छ ।

अंसारीका अनुसार नेपालमा स्वास्थ्य सेवाको स्तर उकास्ने उद्देश्यका साथ अस्पतालले उपचार प्रणाली, गुणस्तर नियन्त्रण, व्यवस्थापन प्रक्रिया तथा सेवा मापदण्डलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार परिमार्जन गर्दै आएको छ । अस्पतालले बिरामीको सुरक्षालाई केन्द्रमा राख्दै उपचार पद्धतिमा सुधार, आधुनिक उपकरणको प्रयोग तथा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष ध्यान दिएको जनाएको छ ।

अस्पतालले स्वास्थ्य विभागबाट प्राप्त निर्देशन तथा मापदण्डअनुसार औषधि उपचार सेवा सञ्चालन गर्नुका साथै विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट निर्धारित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आएको जनाएको छ । साथै बिरामी परीक्षण, निजी प्रयोगशालाको गुणस्तर परीक्षण तथा प्रयोगशाला व्यवस्थापनलाई समेत उच्च प्राथमिकतामा राखिएको अस्पतालको दाबी छ ।

त्यसैगरी, अस्पतालले नियामक निकायबाट हुने लेखापरीक्षण, स्वदेशी तथा आयातित औषधिको गुणस्तर परीक्षण र विश्लेषण, विश्लेषण विधिको प्रमाणीकरण तथा कुशल प्रयोगशाला अभ्याससम्बन्धी निरीक्षण तथा मूल्यांकनको कार्यसमेत निरन्तर गर्दै आएको जनाएको छ ।

अस्पताल प्रशासनले आईएसओ प्रमाणीकरणले स्वास्थ्य सेवा क्षेत्रमा संस्थाको विश्वसनीयता अझ बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ आधुनिक, सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here