35.3 C
Birgunj
Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026
spot_img

वीरगंजमा चार्जमा राखिएको इलेक्ट्रिक स्कुटर पड्किँदा एकै परिवारका चार जना गम्भीर

वीरगंज,२१ बैशाख । बढ्दो पेट्रोलको मूल्यबाट राहत पाउन खरिद गरिएको इलेक्ट्रिक स्कुटर नै परिवारका लागि जोखिम बनेपछि वीरगंजमा एकै परिवारका चार जना गम्भीर घाइते भएका छन्। चार्जमा राखिएको स्कुटरमा आगलागी हुँदा घरमा रहेका सबै सदस्य प्रभावित भएका हुन्।

वीरगंज महानगरपालिका वडा नं. १६ नगवा निवासी विशाल सर्राफले एक महिना अघि खरिद गरेको ‘टोनमा’ कम्पनीको इलेक्ट्रिक स्कुटर शनिबार राति चार्जमा राखिएको अवस्थामा ब्याट्री पड्किएर आगलागी भएको हो। 

आगलागीमा परी विशाल सर्राफ, उनकी २६ वर्षीया श्रीमती अञ्जली सर्राफ, ६ वर्षीय छोरा कबिर सर्राफ र २ वर्षीया छोरी इशा सर्राफ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पतालको आइसीयू तथा एनआईसीयूमा भर्ना गरिएको छ।

घटनाबारे परिवारका सदस्य विष्णु सर्राफका अनुसार पेट्रोल खर्च घटाउन खरिद गरिएको स्कुटरले नै ठूलो दुर्घटना निम्त्याएको हो। हाल घाइतेहरूको उपचार भइरहेको र उपचारपछि कम्पनीविरुद्ध कानुनी कारबाही गर्ने तयारी रहेको उनले बताए।

स्कुटर वीरगंजको ड्राइपोर्ट चोकस्थित कुशवाह मोटर्सबाट १ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको थियो।

कुशवाह मोटर्सका कर्मचारी शौरभ श्रीवास्तवले प्रारम्भिक रूपमा विद्युत् फ्लक्चुएसनका कारण आगलागी भएको हुन सक्ने बताए। उनले घटनाबारे कम्पनीले अनुसन्धान गर्ने जानकारी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार घटनाको पुष्टि भइसकेको छ र आगलागीको वास्तविक कारणबारे विस्तृत अनुसन्धान भइरहेको छ। सोही क्रममा स्कुटरका आधिकारिक विक्रेतालाई समेत सोधपुछका लागि बोलाइएको प्रहरीले जनाएको छ।

यस घटनापछि इलेक्ट्रिक सवारीसाधनको सुरक्षामापदण्ड र गुणस्तर परीक्षणबारे गम्भीर प्रश्न उठेको छ भने स्थानीय बासिन्दामा त्रास फैलिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here