वीरगंज,३० चैत । विकास चौरसिया हत्या आरोपमा प्रहरीले एक महिला सहित चार जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साह, उनकी श्रीमती २४ वर्षीया सोनि कुमारी, बारागढी नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारतको दिल्ली निवासी २१ वर्षीय ओमवीर प्रजापति रहेका छन्। प्रहरीका अनुसार सन्तोष र सोनि श्रीमान–श्रीमती हुन् भने विशाल सन्तोषका नातामा पर्ने भाइ र ओमवीर उनका साथी हुन्।
आइतबार साँझ कालिकामाई गाउँपालिका–१ मुडली निवासी २७ वर्षीय विकास चौरसियाको वीरगंज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडिको एक घरमा कुटपिटबाट मृत्यु भएको हो। घटनापछि तत्कालै पुगेको प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएको जनाएको छ। मृतक चौरसिया नेपाल प्रहरीका कर्मचारी रहेको र उनी सप्तरीमा कार्यरत प्रहरी जवान भएको बताइएको छ। उनी विदामा घर आएका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार, वीरगंजमा डेरा लिएर बसेका सन्तोष दम्पतीको कोठामा भएको विवादका क्रममा झगडा बढ्दै जाँदा कुटपिट भएको र सोही क्रममा रड प्रहारबाट चौरसियाको ज्यान गएको खुलेको छ। मृतक उक्त स्थानमा किन पुगेका थिए भन्ने विषयमा समेत प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

