वीरगंज,२१ चैत । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जको आयोजनामा “Run for Health, Run for Life” नारासहित हेल्थ म्याराथन कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको हो।
म्याराथन प्रतियोगितामा पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय स्थानमा रहे। त्यस्तै महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भइन्।
फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय स्थान हासिल गरे।
स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बिहान ६:३० बजे सुरु भई ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो।
कार्यक्रम नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको अध्यक्षता तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका गणपति एसपी मोहनबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै, आर्मी ब्यारेक वीरगञ्जका प्रमुख लोकेन्द्र कार्की र पर्सा खेलकुद विकास समितिका रेफ्री विशेष्वर पटेललगायतको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरीलगायतको उपस्थिति रहेको थियो।
म्याराथनलाई सुरक्षित र व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलले वार्मअप तथा सुरक्षा निर्देशन दिएका थिए। सहभागीहरूको सुरक्षालाई ध्यानमा राख्दै एस्कर्ट टोली, ट्राफिक व्यवस्थापन तथा एम्बुलेन्स सेवा (चलायमान र स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको आयोजकले जनाएको छ।
म्याराथन मार्गका विभिन्न स्थानमा स्थापना गरिएका सहायता केन्द्रहरूबाट सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

