25.5 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

टेढा गाउँमा प्रदीप यादवको घरदैलो, सूर्य छापमा मतदान गर्न आग्रह

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले मङ्गलवार वीरगञ्ज महानगरपालिका–३२ टेढा गाउँका विभिन्न टोलमा व्यापक घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा स्थानीयवासीको घर–घर पुगेर प्रत्यक्ष भेटघाट गर्दै यादवले सूर्य चुनाव चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरे। उनले स्थानीय बासिन्दासँग क्षेत्रका समस्या, विकासका आवश्यकता र आगामी योजनाबारे छलफल समेत गरेका थिए।

कार्यक्रममा बोल्दै यादवले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै संविधान, सङ्घीयता र राष्ट्रिय अखण्डता जोगाउन एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताए। “जेन–जी आन्दोलनपछि देशमा शून्यता सिर्जना भएको थियो। त्यसबेला एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूले चट्टानी अडान लिएर विदेशी शक्तिको हस्तक्षेपको विरोध गर्नुभयो,” उनले भने, “अब पनि राष्ट्रिय स्वाधीनता जोगाउन र देशलाई सही दिशामा लैजान एमालेको नेतृत्व अपरिहार्य छ।”

यादवले आफ्नो अघिल्ला दुई कार्यकालमा पर्सा जिल्ला तथा निर्वाचन क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे। “म निर्वाचित हुनुभन्दा अगाडिको पर्सा र अहिलेको पर्सामा जमिन–आकाशको फरक छ,” उनले भने, “सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, सिँचाइ र विद्युत् विस्तारमा महत्वपूर्ण प्रगति भएको छ। पुनः निर्वाचित भएपछि बाँकी रहेका योजनालाई तीव्र गतिमा अघि बढाउनेछु।”

उनले आगामी योजनाअन्तर्गत युवा बेरोजगारी न्यूनीकरण, स्वदेशमै रोजगारी सिर्जना, महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन, कृषि र पर्यटन प्रवर्द्धन तथा स्थानीय उद्योग स्थापना मार्फत आर्थिक समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिद्वन्द्वी उम्मेदवारहरूप्रति टिप्पणी गर्दै यादवले आफू निरन्तर जनतासँग जोडिएको राजनीतिक व्यक्तित्व भएको दाबी गरे। “चुनावको बेला मात्र देखिने होइन, म सधैँ जनताको दुःख–सुखमा साथ दिँदै आएको छु,” उनले भने।

घरदैलो तथा जनता दर्शन कार्यक्रममा एमालेका केन्द्रीय तथा स्थानीय नेता–कार्यकर्ता, युवा, महिला, ज्येष्ठ नागरिक लगायत स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here