काठमाडौं,१० फागुन । २१ फागुनको निर्वाचनमा चुनावी प्रयोजनका लागि खटिने सुरक्षाकर्मी र कर्मचारीले खटिएकै स्थानबाट मतदान गर्न पाउने भएका छन् । तर, उनीहरूलाई समानुपातिक प्रणालीतर्फ मात्रै यस्तो मताधिकार दिइएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार आसन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले आफू खटिएकै ठाउँमा मतदान गर्न सक्छन् । त्यसका लागि आवश्यक सबै प्रबन्ध तयार गरिएको छ ।
सुरक्षाकर्मी र कर्मचारी गरी निर्वाचनमा पाँच लाख ५१ हजार ८९० कर्मचारी खटिँदै छन् । निर्वाचन आयोगका अनुसार आसन्न निर्वाचनका लागि मुलुकभर १० हजार ९६७ निर्वाचन स्थल निर्धारण गरिएका छन् ।
जसमा २३ हजार ११२ निर्वाचन केन्द्र छन् । ती केन्द्रको व्यवस्थापन गर्न निजामतीतर्फका कर्मचारी मात्रै दुई लाख १३ हजार खटिँदै छन् । त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना गरी तीन लाख ३८ हजार ८९० जना खटिँदै छन् । उनीहरूले खटिएकै निर्वाचन स्थलमा समानुपातिकतर्फ मात्रै मतदान गर्न सक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘आसन्न निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्नेछन् । उनीहरूले आफू खटिएकै ठाउँमा मतदान गर्न सक्छन् । त्यसका लागि आवश्यक सबै प्रबन्ध तयार गरिएको छ,’ उनले भने ।
आयोगका अनुसार निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको तथ्याङ्क सङ्कलन भइसकेको छ । उनीहरू खटिने निर्वाचन स्थलको विवरण र सङ्ख्या पनि निर्धारण भइसकेको छ । आयोगले सोहीअनुसार उनीहरूको मतदाता नामावली तयार गरेर खटिने निर्वाचन स्थलमै पठाएको छ । निर्वाचनका क्रममा निर्वाचन अधिकृतले सोही नामावली परीक्षण गरी कर्मचारी र सुरक्षाकर्मीलाई समानुपातिकतर्फको मतपत्र उपलब्ध गराउनेछ र सोही आधारमा उनीहरूले मतदान गर्न सक्नेछन् । ‘निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मीको तथ्याङ्क सङ्कलन भएका छन् । उनीहरू खटिई जाने निर्वाचन स्थल पनि यकिन भएका छन् । सोहीअनुसार तयार भएको नामावली सम्बन्धित निर्वाचन स्थलमा पठाइनेछ र सोही आधारमा उनीहरूले मतदान गर्न सक्नेछन्,’ आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने ।
अन्य कर्मचारीले पनि मतदान गर्न पाउने
निर्वाचनमा प्रत्यक्ष खटिनेले मात्रै होइन, अप्रत्यक्ष खटिने सरकारी कर्मचारीले कार्यक्षेत्रबाटै समानुपातिकमा मतदान गर्न पाउँछन् । उनीहरूका लागि आयोगले पायक पर्ने ठाउँमा अस्थायी मतदान स्थल खडा गरिदिन्छ । उनीहरूको पनि मतदाता नामावली तयारी गरेको र सोहीअनुसार स्थायी मतदान स्थल निर्धारण गरेको आयोगले जनाएको छ । उनीहरूको मतदाता नामावली सम्बन्धित मतदान स्थलमै पुग्नेछ । निर्वाचन अधिकृतले सोही नामावली हेरेर मतपत्र दिनेछन् र कर्मचारीले मतदान गर्न सक्नेछन् ।
विशेष गरी भिभिआइपी र भिआइपी स्थलको सुरक्षामा खटिने सुरक्षाकर्मी, सम्बन्धित सुरक्षा निकायको प्रधान कार्यालय, प्रदेश तथा जिल्ला कार्यालय, कारागार, बैङ्क, विमानस्थल, राष्ट्रिय निकुञ्ज, ठुला जलविद्युत् आयोजनालगायत निकायमा खटिने सुरक्षाकर्मीले यो सुविधा उपभोग गर्न सक्नेछन् । त्यस्तै, निर्वाचन आयोग, सिंहदरबार, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीले पनि तोकिएको अस्थायी निर्वाचन स्थलमा पुगेर मतदान गर्न सक्नेछन् । आयोग प्रवक्ता भट्टराईले भने, ‘निर्वाचनका क्रममा प्रत्यक्ष खटिने कर्मचारीले मात्रै होइन, उनीहरूलाई सपोर्ट दिने गरी खटिने कर्मचारी र सुरक्षाकर्मीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्छन् । उनीहरूका लागि पायक पर्ने ठाउँमा अस्थायी मतदान स्थल खडा गरिनेछ, मतदाता नामावली सोही ठाउँमा पुग्नेछ ।’
समानुपातिकमा कैदी बन्दीको पनि साढे ६ हजार मत
विगतझैँ यस पटक पनि कैदी बन्दीले समानुपातिकमा मतदान गर्न पाउँछन् । आयोगका अनुसार सम्बन्धित कारागारमै उनीहरूका लागि मतदान गर्ने व्यवस्था हुनेछ । मुलुकभरका ७४ कारागारमा हाल २५ हजार ९७३ कैदी बन्दीमध्ये करिब २५ प्रतिशतको मात्रै मतदाता नामावलीमा नाम रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ । यस आधारमा ६ हजार पाँच सय जति मतदाता कारागारमा रहेको देखिन्छ । अधिकांश कैदी बन्दीमा कसैको नागरिकता नै नभएको, कतिपयले मतदाता नामावलीमा नाम दर्ता गर्न अनिच्छा देखाएको विभागले जनाएको छ ।

