29.6 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

वडा–११ का बासिन्दासँग सरार्फको भेटघाट, युवालाई रोजगारी र टोलमा पूर्वाधार प्राथमिकता

वीरगंज,१० फागुन । जनमत पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँद वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट,श्रीपुर टोलमा व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। पछिल्लो समय मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका सरार्फले घरदैलोमार्फत स्थानीय बासिन्दाका समस्या, अपेक्षा र सुझावलाई नजिकबाट सुन्ने प्रयास गरेका हुन्।

घरदैलो अभियानका क्रममा उनले टोल–टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला, युवा तथा व्यवसायीहरूसँग अन्तरक्रिया गरे। स्थानीयवासीहरूले विशेषगरी खानेपानी, सडक, ढल निकास, सरसफाइ र रोजगारीका विषयमा गुनासा तथा सुझाव राखेका थिए। ती समस्यालाई गम्भीरतापूर्वक लिँदै सरार्फले दीर्घकालीन र व्यवहारिक समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।

वीरगंज महानगरपालिका वडा नम्बर ११ रानीघाट,श्रीपुर टोलमा देखिएको शुद्ध खानेपानीको अभाव प्रमुख समस्याका रूपमा उठेको थियो। धेरै घरधुरीमा नियमित र स्वच्छ पानी आपूर्ति नहुँदा जनस्वास्थ्यमा असर परेको स्थानीयको भनाइ थियो। यस सन्दर्भमा सरार्फले स्थायी पाइपलाइन विस्तार, नयाँ पानी ट्यांकी निर्माण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गरिने योजना अघि सार्ने प्रतिबद्धता जनाए। खानेपानी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित निकायसँग समन्वय गरी दिगो समाधान निकाल्ने उनले बताए।

त्यसैगरी, वर्षायाममा हिलाम्मे हुने सडक र अव्यवस्थित ढल निकासका कारण स्थानीयले वर्षेनि सास्ती खेप्नुपरेको गुनासो पनि व्यापक रूपमा आएको थियो। सरार्फले गुणस्तरीय सडक निर्माण, पक्की नाली व्यवस्था र प्रभावकारी ढल निकास प्रणाली विकास गरिने बताए। विकास निर्माणका योजनाहरूलाई पारदर्शी र समयबद्ध रूपमा सम्पन्न गर्न स्थानीय तह र संघीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनको भनाइ थियो।

भेटघाटका क्रममा भूमिसम्बन्धी विवाद, सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण रोकथामका विषय पनि उठेका थिए। सार्वजनिक सम्पत्तिको संरक्षणमा ढिलासुस्ती हुँदा भविष्यमा थप जटिलता निम्तिने भन्दै सरार्फले पारदर्शी प्रशासनिक प्रणालीमार्फत यस्ता समस्या समाधान गरिने आश्वासन दिए। भूमिसम्बन्धी अभिलेख व्यवस्थापनलाई डिजिटल प्रणालीमा लैजान पहल गरिने र विवाद समाधानका लागि सहज तथा छिटो प्रक्रिया अवलम्बन गरिने उनले बताए।

युवाहरूका लागि रोजगारी सिर्जना आफ्नो मुख्य एजेन्डा रहेको सरार्फले दोहो¥याए। वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले सीपमूलक तालिम, उद्यमशीलता प्रवद्र्धन र साना तथा घरेलु उद्योग विस्तारमा विशेष कार्यक्रम ल्याइने बताए। स्थानीय स्रोत–साधनको उपयोग गरी उद्योग स्थापना, कृषि आधुनिकीकरण तथा सेवा क्षेत्रमा लगानी आकर्षित गरिने उनको प्रतिबद्धता थियो।

स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई पनि उनले प्राथमिकतामा राखेका छन्। वडा स्तरका स्वास्थ्य चौकीहरूको स्तरोन्नति, आवश्यक औषधि आपूर्ति व्यवस्थापन तथा विशेषज्ञ सेवाको पहुँच विस्तारका लागि पहल गरिने उनले बताए। शिक्षाको क्षेत्रमा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधार, दक्ष शिक्षक व्यवस्थापन र प्रविधिमैत्री शिक्षण पद्धति लागू गरिने उनको योजना छ।

घरदैलो कार्यक्रममा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। धेरैले सरार्फसँग प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्दै समाधानको अपेक्षा व्यक्त गरेका थिए। प्रत्युत्तरमा उनले आफ्नो अभियान केवल चुनाव केन्द्रित नभई दीर्घकालीन विकास, सुशासन र जवाफदेहितामा आधारित रहेको स्पष्ट पारे। जनताको विश्वास जित्नका लागि पारदर्शिता, नियमित अनुगमन र प्रत्यक्ष संवादलाई निरन्तरता दिइने उनले बताए।

सरार्फले मतदातालाई सम्बोधन गर्दै भने, “राजनीति केवल वाचा गर्ने माध्यम होइन, काम गरेर देखाउने जिम्मेवारी हो। यसरी वडा नम्बर–११ मा सम्पन्न घरदैलो कार्यक्रमले चुनावी माहोललाई थप सक्रिय बनाएको छ। प्रत्यक्ष संवाद र विकासका स्पष्ट एजेन्डासहित अघि बढिरहेका सरार्फले स्थानीयस्तरमा आफ्नो समर्थन आधार विस्तार गर्दै लगेका छन्। आगामी दिनमा पनि यस्तै कार्यक्रममार्फत मतदातासँग जोडिँदै जाने उनको योजना रहेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here