31.1 C
Birgunj
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
spot_img

शिवरात्रि ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण, संलग्न युवक नियन्त्रणमा

काठमाडौं,०६ फागुन । महाशिवरात्रि पर्वका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार स्थायी घर भई काठमाडौं महानगरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ रहेका छन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार सामाजिक सञ्जालमा भाइरल भएको भिडियोका आधारमा अनुसन्धान अघि बढाइएपछि श्रेष्ठलाई पक्राउ गरिएको हो।

महाशिवरात्रिको दिन मन्दिर परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरीमाथि श्रेष्ठले लात्ती प्रहार गरेका थिए। ड्युटीमा रहेका प्रहरीको छातीमा लात्ती हानेको दृश्य भिडियोमा स्पष्ट देखिएको थियो। उक्त भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो भने संलग्न व्यक्तिको पहिचानका लागि व्यापक खोजी सुरु गरिएको थियो।

घटनापछि प्रहरी प्रशासनले मंगलबार सूचना जारी गर्दै आक्रमणमा संलग्न युवकको पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो। नागरिकबाट प्राप्त सूचना र प्राविधिक अनुसन्धानका आधारमा श्रेष्ठलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका श्रेष्ठमाथि अभद्र व्यवहार तथा सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथि आक्रमण जस्तो घटनालाई गम्भीर रूपमा लिने र कानुनअनुसार कारबाही गर्ने स्पष्ट गरेको छ।

महाशिवरात्रि जस्तो धार्मिक तथा भीडभाड हुने पर्वमा सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै संयमित व्यवहार गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here