31.1 C
Birgunj
Date
शनि, फाल्गुन ३०, २०८२
Sat, March 14, 2026
spot_img

वीरगंज–१६ नगवामा राजनीतिक गतिविधि ताते, एमालेको सम्पर्क कार्यालय उद्घाटन

वीरगंज,०४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले वीरगञ्ज महानगरपालिका–१६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय स्थापना गरेको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सङ्गठन सुदृढीकरण र जनसम्पर्क विस्तार गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको कार्यालयको उद्घाटन एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले रिबन काटेर गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले कार्यालय उद्घाटनलाई वडा स्तरीय जनसम्पर्क अभियानको सुरुवातका रूपमा व्याख्या गरे। उनले एमाले वीरगञ्जलाई समृद्ध, सफा, सुन्दर र बस्न योग्य सहर बनाउने लक्ष्यमा दृढ रहेको बताए।
“शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, युवाहरूलाई रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सडक, बिजुली, खानेपानीजस्ता आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिनेछौँ। समग्र वीरगञ्जलाई औद्योगिक केन्द्रसँगै पर्यटकीय हब बनाउने हाम्रो मुख्य चुनावी एजेन्डा हो,” उनले भने।

यादवले आफ्नो विगतको सार्वजनिक सेवाको स्मरण गर्दै वीरगञ्जवासीका लागि गरेको कामको चर्चा पनि गरे।
“सांसद र मन्त्रीको जिम्मेवारी सम्हाल्दा जनताको सेवामा सुधारका उल्लेखनीय काम गरेको छु। अनुभवका आधारमा अब वीरगञ्जको समग्र विकासलाई नयाँ उचाइमा पुर्‍याउनेछु,” उनले थपे।

उद्घाटन कार्यक्रममा पूर्व सांसद प्रभु हजरा, निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, सुन्दर कुर्मी, रामबाबु पासवान, अरुण यादव, भुसाल चौरसिया लगायतको उपस्थिति रहेको थियो।

कार्यालय उद्घाटनसँगै एमालेले वीरगञ्ज–१६ सहित सहरका विभिन्न वडाहरूमा जनसम्पर्क तथा सङ्गठन विस्तार अभियानलाई तीव्रता दिने जनाएको छ। कार्यालयलाई पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरूको नियमित सम्पर्क केन्द्रका रूपमा सञ्चालन गरिने बताइएको छ।

यसैबीच, आज बिहान वीरगञ्ज–१८ सौराहामा तय गरिएको प्रदीप यादवको घरदैलो कार्यक्रम स्थानीय बलिस्टर यादवको निधनका कारण स्थगित गरिएको क्षेत्रीय कमिटीले जनाएको छ। साथै, पार्टीका नेताहरू स्वर्गीय यादवको अन्त्येष्टि कार्यक्रममा सहभागी हुने एमालेले जानकारी दिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here