33.6 C
Birgunj
Date
मङ्ल, जेष्ठ १२, २०८३
Tue, May 26, 2026
spot_img

वीरगंज महानगरपलिका वडा नं. १७ का जनताको पीडा सुन्दै टेमानी : खानेपानी, डुबान र पूर्वाधार सुधार पहिलो प्राथमिकता

वीरगंज,०४ फागुन। जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक कुमार टेमानी यतिबेला विकास, समृद्धि र स्वाभिमानको मूल एजेन्डासहित चुनावी चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत टोल–टोल पुगेर स्थानीय बासिन्दासँग समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष जानकारी लिएका हुन्। घरदैलो कार्यक्रमका क्रममा वडा नं. १७ का बासिन्दाहरूले वर्षौंदेखि भोग्दै आएका डुबान, खानेपानी अभाव, ढल निकासको समस्या, शिक्षा तथा स्वास्थ्य सेवाको कमजोरीजस्ता विषय उठाएका थिए। विशेषगरी वर्षायाममा सामान्य पानी पर्दा पनि सडक तथा घरआँगन जलमग्न हुने समस्या यहाँका बासिन्दाका लागि मुख्य चुनौती बनेको स्थानीयले बताए। व्यवस्थित नाला तथा ढल निकास नहुँदा वर्षेनी डुबान दोहोरिने गरेको गुनासो उनीहरूले गरेका छन्।

त्यसैगरी, खानेपानीको अभाव अर्को गम्भीर समस्या रहेको जनाइएको छ। नियमित रूपमा धारामा पानी नआउने, ट्यांकरको भर पर्नुपर्ने अवस्था र शुद्ध पिउने पानीको दीर्घकालीन व्यवस्थापन नहुँदा जनजीवन प्रभावित भएको स्थानीयहरूको भनाइ थियो। स्वास्थ्य चौकीको स्तरोन्नति, औषधि अभाव तथा दक्ष जनशक्तिको कमीले सामान्य उपचारका लागि समेत टाढा धाउनुपर्ने बाध्यता रहेको उनीहरूले सुनाए।

संवादका क्रममा शिक्षा क्षेत्रका समस्या पनि उठाइए। सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधारको अभाव, गुणस्तरीय शिक्षण–सिकाइको कमी र पर्याप्त शिक्षक नहुँदा विद्यार्थीहरूको भविष्य प्रभावित भइरहेको अभिभावकहरूले बताएका छन्। कृषि क्षेत्रमा पनि सिंचाइ सुविधा, मल–बीउको उपलब्धता र बजार व्यवस्थापनमा समस्या रहेको भन्दै राज्यको ध्यानाकर्षण गराइएको थियो।

स्थानीयहरूको गुनासो सुनेपछि उम्मेदवार टेमानीले जनताका आधारभूत समस्या समाधानलाई आफ्नो पहिलो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले वडा नं. १७ लगायत समग्र क्षेत्रको दीर्घकालीन विकासका लागि योजनाबद्ध ढंगले काम गर्ने बताए। “खानेपानी, ढल निकास र सडक पूर्वाधार सुधार नगरी समृद्धिको कुरा गर्न सकिँदैन,” उनले भने, “जनताको समस्या नजिकबाट बुझेर त्यसको समाधानका लागि संसदमा सशक्त आवाज उठाउनेछु।”

टेमानीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम ल्याउने, कृषि उत्पादनलाई प्रवर्द्धन गर्न आवश्यक नीति निर्माणमा पहल गर्ने तथा डुबान समस्या समाधानका लागि दीर्घकालीन जलनिकास योजना अघि बढाउने प्रतिबद्धता जनाए। उनले जनताको विश्वास र साथ नै आफ्नो शक्ति भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सहयोग गर्न अपिल समेत गरे।

घरदैलो अभियानमा स्थानीय युवा, महिला तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। प्रत्यक्ष संवादमार्फत उम्मेदवारले जनतासँग भावनात्मक सम्बन्ध जोड्दै विश्वास जित्ने प्रयास गरेका थिए। वडा नं. १७ मा आयोजित उक्त कार्यक्रमले चुनावी माहोललाई थप तातेको छ भने स्थानीय समस्यालाई केन्द्रमा राखेर गरिने राजनीति नै अहिलेको आवश्यकता रहेको सन्देश दिएको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here