38.8 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

बहुदरमाई–४ मा जसपाको लहर, सयौं नेता–कार्यकर्ता पार्टी प्रवेश

वीरगंज (पर्सा), २८ माघ । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका वडा नं. ४ मा जनता समाजवादी पार्टी (जसपा) प्रति आकर्षण बढ्दै गएको संकेत देखिएको छ । पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्ने यस वडामा विभिन्न दल परित्याग गरी सयौं जना युवा, बुद्धिजीवी तथा स्थानीय अगुवाहरू जसपामा प्रवेश गरेका छन्। सामूहिक रूपमा गरिएको यो प्रवेश कार्यक्रमले क्षेत्रमा जसपाको चुनावी अभियानलाई नयाँ ऊर्जा दिएको छ ।

नवप्रवेशीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानी, जसपाकी नेतृ करिमा बेगम, पार्टी नेता सन्तोष तिवारी, वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी लगायतको उपस्थिति रहेको थियो । उनीहरूले अबिर, टीका र फूलमाला लगाएर नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा देखिएको उत्साहले जसपाप्रति स्थानीय तहमा बढ्दो विश्वास झल्काएको सहभागीहरूले बताएका छन् । उक्त अवसरमै सोही स्थानमा जनता समाजवादी पार्टीको नयाँ पार्टी कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ । कार्यालयको उद्घाटन प्रमुख अतिथिका रूपमा रहेका उम्मेदवार अशोक टेमानीले गरेका थिए । स्थानीय स्तरमै पार्टी कार्यालय सञ्चालनमा आएपछि संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र चुनावी गतिविधि सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै नवप्रवेशीहरूले जनता समाजवादी पार्टीलाई नै विकास र परिवर्तनको आशा बोकेको शक्ति भएको धारणा व्यक्त गरेका थिए । विगतमा विभिन्न दलका उम्मेदवारलाई निर्वाचित गराउँदा पनि अपेक्षित विकास हुन नसकेको अनुभव सुनाउँदै उनीहरूले यसपटक जनताको समस्या नजिकबाट बुझेका उम्मेदवारलाई साथ दिने बताएका छन् । अशोक टेमानीले क्षेत्रका आवश्यकता र जनचासोलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै आएका कारण आफूहरू जसपामा आवद्ध भएको उनीहरूको भनाइ थियो ।

उम्मेदवार टेमानीले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै क्षेत्रको विकास, सुशासन र जनसेवामुखी राजनीति आफ्नो प्राथमिकता रहेको बताए ।  स्थानीय युवाशक्ति र बुद्धिजीवीहरूको साथले चुनावी अभियानलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरे। जसपाको नीति, विचार र कार्यक्रमप्रति आकर्षित भएर विभिन्न दलका नेताकार्यकर्ताहरू पार्टीमा प्रवेश गर्नुले जनआधार विस्तार भएको संकेत मिलेको उनले उल्लेख गरे । बहुदरमाई–४ मा भएको यस सामूहिक प्रवेश कार्यक्रमलाई जसपाको चुनावी रणनीतिका हिसाबले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

स्थानीय तहमा पार्टी संरचना मजबुत बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने तयारी पार्टीले गरेको जनाएको छ । बहुदरमाई नगरपालिका वडा नं. ४ मा देखिएको यस सक्रियताले पर्सा क्षेत्र नं. २ को चुनावी माहोललाई थप चहलपहलपूर्ण बनाएको छ । सयौंको संख्यामा भएको पार्टी प्रवेश र नयाँ कार्यालय सञ्चालनले जसपाको प्रचारप्रसार अभियानले गति लिएको संकेत गरेको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here