वीरगंज,२४ माघ । नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा भव्य घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
शनिबार बिहान नगवामा आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नगवावासीबाट अपार माया, समर्थन र उत्साह प्राप्त भएको उल्लेख गर्दै उम्मेदवार यादवले नगवाका जनता आफ्नो पक्षमा मजबुत रूपमा उभिएको दाबी गरे।
नगवावासीले जितको आशीर्वाद दिएको उल्लेख गर्दै उनले जनचाहनाअनुसार निरन्तर जनताको सेवामा सक्रिय रहेकै कारण स्थानीयवासीको विश्वास र साथ प्राप्त भएको बताए।
घरदैलो तथा जनता दर्शन कार्यक्रमपछि नगवा गाउँको अग्रभागमा कोणसभाको आयोजना गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार यादवले विगतमा नगवाको विकासका लागि हरसम्भव प्रयास गरेको र आगामी दिनमा विकास, शिक्षा, स्वास्थ्य तथा युवाहरूको रोजगारी सुनिश्चित गर्न विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे।
उनले युवाहरूलाई कुनै समस्या वा असन्तुष्टि भए आफूलाई सिधै फोन वा सन्देश गर्न आग्रह गर्दै सुख–दुःखमा सधैं अग्रपंक्तिमा उभिने प्रतिबद्धता दोहोर्याए।
घरदैलो तथा कोणसभामा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुषाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव, बादललगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी नेताहरूले विपक्षीहरूले प्रचार गरेजस्तो नगवाको अवस्था नरहेको स्पष्ट पार्दै सम्पूर्ण नगवावासी उम्मेदवार प्रदीप यादवको पक्षमा एकजुट रहेको दाबी गरेका थिए।

