वीरगंज,२१ माघ । पर्साको छिपहरमाई गाउँपालिका वडा नं. १ अन्तर्गत मिर्जापुर र भालुवहियामा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्।
पूर्वमन्त्री तथा निर्वतमान सांसदसमेत रहेका उम्मेदवार रिजालले घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याबारे जानकारी लिएका हुन्। उनले जनताका गुनासा र आवश्यकता सुन्दै समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलोका क्रममा रिजालले नेपाली कांग्रेसको नीति, कार्यक्रम तथा विकास एजेन्डाबारे जानकारी गराउँदै स्थानीयस्तरका समस्या समाधानका लागि आफू दृढतापूर्वक लाग्ने बताए। उनले “जनतासँगको प्रत्यक्ष संवाद नै परिवर्तनको बलियो आधार हो” भन्दै जनताको भरोसामै आधारित राजनीति गर्ने स्पष्ट सन्देश दिए।
स्थानीयवासीहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा चासो व्यक्त गर्दै यसपटक प्रभावकारी र जवाफदेही प्रतिनिधित्वको आवश्यकता औंल्याएका थिए।
घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे, सह–सचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त यादव, क्षेत्रीय सचिव बलिष्टर अहमद, प्रदेश क्षेत्रीय सभापति दिपेन्द्र सिंहलगायत छिपहरमाईका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

