वीरगंज,२१ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज चौधरीले वीरगंज महानगरपालिका वडा नम्बर–२५ स्थित सिर्सियामा युवा भेला सम्पन्न गरेका छन्।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले नेकपासँग स्पष्ट एजेन्डा र समाजवादी आन्दोलनको ठोस मार्गचित्र रहेको उल्लेख गर्दै युवाहरूलाई एकजुट भई पार्टीको पक्षमा उभिन आह्वान गरे। उनले नेकपा सधैं गरिब, श्रमिक तथा सर्वहारा वर्गको हक–हितका लागि संघर्षरत रहँदै आएको बताए।
चौधरीले देशमा देखिएका विभिन्न विध्वंस र अस्थिरताका लागि नेकपा एमाले जिम्मेवार रहेको दाबी गर्दै परिवर्तनका लागि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको धारणा व्यक्त गरे।
भेलामा नेकपाका केन्द्रीय सदस्य रामचन्द्र साह, बृजलाल पासवान, नेता रामाश्रय राम, वीरेंद्र यादवलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
यसैक्रममा उम्मेदवार चौधरीले आजै पर्सागढी नगरपालिकाको वडा नम्बर–७ र ९ अन्तर्गत टिकुलिया–एकटङ्गा तथा बडेरवा क्षेत्रमा घरदैलो कार्यक्रमसमेत सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम तथा प्रतिबद्धताबारे जानकारी गराए।
घरदैलो कार्यक्रममा नेकपाका सुशील हजरा, दीपेन्द्र सिंह पटेल, सोम लामा, जीवन राम, टेकनारायण महतो लगायतका अगुवा कार्यकर्ता तथा नेताहरूको सक्रिय सहभागिता रहेको थियो।

