30.8 C
Birgunj
Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026
spot_img

पर्सागढी–३ मा जसपा उम्मेदवार अशोक टेमानीको घरदैलो तीव्र

वीरगंज,२० माघ । पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीको घरदैलो अभियान पर्सागढी नगरपालिकाको वडा नं. ३ अन्तर्गत झुलीटार, विरुवागुठी, भाबराहलगायतका टोलहरूमा सम्पन्न भएको छ।

जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार टेमानीले घरदैलो अभियानलाई तीव्र बनाउँदै लगेपछि पर्सा क्षेत्र नं. २ मा जसपामय माहोल देखिन थालेको छ। अभियानमा स्थानीय युवादेखि महिला तथा वृद्धवृद्धासम्मको उत्साहजनक सहभागिता रहेको थियो।

घरदैलोका क्रममा उम्मेदवार टेमानीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिएका छन्। संवादका क्रममा स्थानीय महिला मतदाताहरूले पटक–पटक निर्वाचित नेताहरूबाट धोका पाएको गुनासो गरेका थिए। उनीहरूले चुनावको बेला मात्रै भोट माग्न आउने र जितेपछि सम्पर्कविहीन हुने प्रवृत्तिका कारण क्षेत्रका समस्या कहिल्यै समाधान हुन नसकेको बताए।

स्थानीय युवाहरूले पनि ठूला र लोभलाग्दा नारामात्र बोकेर आउने नेताहरूबाट यसपटक सचेत भएर निर्णय गर्ने बताएका छन्। राजनीतिलाई व्यापार बनाउने पुराना अनुहारहरूलाई चिनिसकेको उल्लेख गर्दै उनीहरूले यस्ता उम्मेदवारलाई यसपटक मतपत्रमार्फत जवाफ दिने चेतावनी दिएका छन्। युवाहरूका अनुसार पर्सा–२ मा अहिले पनि केही पुराना अनुहारहरू पुनः उम्मेदवार बनेका छन् तर मतदाताकोमा पुग्नसमेत नसकेको अवस्था छ। यस्तो परिस्थितिमा जसपा उम्मेदवार टेमानी नै उपयुक्त विकल्प रहेको उनीहरूको भनाइ छ।

शिक्षित, सक्षम र सफल उद्योगीको परिचय बनाएका अशोक टेमानी जनताको समस्या समाधान गर्ने उद्देश्यले चुनावी मैदानमा उत्रिएको भन्दै स्थानीयवासीहरूले पूर्ण समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो अभियानकै क्रममा उठेका गुनासाहरूलाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले जनताको समस्या बुझेर नै समाधान खोज्ने उद्देश्यले आफू चुनावमा आएको बताए। उनले कसैको लहलहीमा नपरी उम्मेदवारको क्षमता, पृष्ठभूमि र काम गर्ने इच्छाशक्तिको मूल्याङ्कन गरेर मात्र मत दिन आग्रह गरे।

उनले भने, “एउटै पार्टीलाई जिताउनुहोस्, पाँच वर्षसम्म हेर्नुहोस्। काम गरेन भने ढुंगा हान्नुस्। तर राम्रो मान्छे चिनेरे मात्रै आफ्नो अमूल्य मत प्रयोग गर्नुस्।”
मतदाताको एक–एक मत महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले सचेत निर्णय गर्न पुनः आग्रह गरे।

घरदैलो अभियानमा जसपाका नेता–कार्यकर्ता, स्थानीय युवा, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here