वीरगंज/ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङटालाई विजयी गराउने उद्देश्यले वडा नं. ४ मा बुथस्तरीय चुनावी कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम वडा नं. ४ का बुथ सभापति जगदीश साह कानुको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्रीले लोकतन्त्र, समावेशी विकास र संविधानको संरक्षणका लागि नेपाली कांग्रेसको जित अपरिहार्य रहेको धारणा राखे। उनले पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई इमानदार, जनतामुखी तथा विकासप्रेमी नेता भएको उल्लेख गर्दै सबै कार्यकर्ता र मतदातालाई एकजुट भई रुङटालाई विजयी गराउन आग्रह गरे।
उम्मेदवार अनिल रुङटाले कार्यक्रममा बोल्दै आफू जनताको सुख–दुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले पर्सा क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारी र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताए। नेपाली कांग्रेसले मात्र देशलाई सही दिशामा लैजान सक्ने उल्लेख गर्दै उनले लोकतन्त्र र राष्ट्रलाई अप्ठ्यारो परिस्थितिमा पर्न नदिन कांग्रेस सरकारमा पुग्न जरुरी रहेको बताए। राष्ट्रियताको सवालमा अझ मजबुत भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा वडा नं. ४ का बुथ सभापति जगदीश साह कानुले स्थानीय तहदेखि केन्द्रसम्म नेपाली कांग्रेसलाई बलियो बनाउनु आजको आवश्यकता रहेको बताए। उनले घर–घरमा पुगेर कांग्रेसको नीति, सिद्धान्त र उम्मेदवार अनिल रुङटाको एजेन्डा प्रचार गर्न कार्यकर्तालाई आग्रह गर्दै यस चुनावलाई परिवर्तनको अवसरका रूपमा लिनुपर्ने बताए।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री, उपसभापति रामनारायण कुर्मी, सचिव दिनेश चौधरी, इम्तियाज आलम, पूर्व नगर सभापति विजय सर्राफ, भोला कलवार, प्रकाश, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, सचिव अनिल सिंह, हरि यादव, किरण सरकार, मनोजा चौधरी, नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, दलित संघ लगायत विभिन्न भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

