वीरगंज,१९ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनोज चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्।
प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन पर्साले संयुक्त रूपमा आयोजना गरेको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले अन्य उम्मेदवारहरूको तुलनामा आफू योग्य, सक्षम र जनतासँग प्रत्यक्ष रूपमा जोडिएको उम्मेदवार भएको कारण निर्वाचनमा विजयी हुनेमा पूर्ण विश्वस्त रहेको बताए।
विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका चौधरीले लामो समयदेखि जनताको दुःख–सुखमा साथ दिँदै आएको स्मरण गर्दै जनताले आफूलाई विश्वास गर्ने आधार यही निरन्तरता भएको बताए। नेकपाका केन्द्रीय सदस्यसमेत रहेका उनले अन्य उम्मेदवारहरू जस्तो पैसाको बलमा होइन, जनताको भरोसा र विश्वासको आधारमा चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
उनले यदि अन्य उम्मेदवारहरू विजयी भए पर्सा–२ मा भ्रष्टाचार बढ्ने सम्भावना रहेको दाबी गर्दै आफू निर्वाचित भए समग्र पर्सा–२ को विकास गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे। शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको भनाइ थियो।
उम्मेदवार चौधरीले कांग्रेस र एमालेको संयुक्त सरकारका कारण मुलुकमा जेन–जी (Gen-Z) पुस्तामा असन्तोष बढ्दै गएको र यस क्रममा ठूलो धनजनको क्षति भएको आरोप लगाए। आफू निर्वाचित भए जेन–जीको चाहना र अपेक्षाअनुसार नीति तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गरेर देखाउने उनले बताए।
उनले आगामी निर्वाचनमा नेकपाको विकल्प नरहेको दाबी गर्दै पार्टीलाई विजयी गराउन सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
अन्तरक्रिया कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू रामचन्द्र साह, विजय महतो, बालगोपाल थापा, बाबुराम कौशिक, बृजलाल पासवान, नेता बलिराम साह, रामदरश कुशवाहा, प्रभाकर गुप्तालगायत प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनसँग आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

