29.7 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा मतदान केन्द्रमै आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित

काठमाडौँ,१६ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवा मतदान केन्द्रमै उपलब्ध गराउन निर्देशन दिएको छ।

उक्त दिन देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार २५५ मतदान केन्द्र (अस्थायीसमेत) मा मतदान हुँदैछ। निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने अपाङ्ग, अशक्त र ज्येष्ठ नागरिकलगायत मतदातालाई आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने भएकाले पूर्वतयारी गर्न आयोगले सरोकारवालालाई आग्रह गरेको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबै मतदान केन्द्रमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था मिलाउन निर्देशन दिइएको उल्लेख छ। निर्वाचनको व्यवस्थापकीय कार्य स्वीकृत कार्यतालिकाअनुसार निरन्तर अघि बढिरहेको पनि जनाइएको छ।

आयोगले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई आवश्यक सहयोगका लागि पत्राचार गरेको जनाएको छ। साथै देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाइएको जानकारी दिइएको छ।

निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारसहित सरोकारवाला निकायसँग सहकार्य जारी रहेको आयोगले जनाएको छ। मतदाताको सहभागिता सुनिश्चित गर्न मतदानको दिनअगाडि र पछि गरी तीन दिन सार्वजनिक बिदा दिने निर्णयसमेत भइसकेको उल्लेख गरिएको छ।

मतदान प्रक्रियालाई व्यवस्थित बनाउन तहगत सरकार र सरोकारवालासँग समन्वय गरिएको छ। मतदान केन्द्र कायम भएका शिक्षण संस्था, स्वास्थ्य चौकी, वडा कार्यालयलगायत सरकारी संरचना तथा त्यहाँ रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि फागुन २१ गतेसम्म उपयोग गर्न मिल्ने व्यवस्था गर्न सम्बन्धित मन्त्रालय र स्थानीय तहसँग समन्वय गरिएको आयोगले जनाएको छ। यससम्बन्धी पत्राचार गृह मन्त्रालयमार्फत भइसकेको उल्लेख छ।

आयोगले आफ्नो निर्णयअनुसार आवश्यक सहयोग गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here