वीरगंज,१५ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार–प्रसार अभियान अन्तर्गत नेपाल महिला संघ पर्साको बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङटा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
बैठक महिलाको संगठनात्मक सशक्तीकरण, पार्टीको आगामी रणनीति तथा स्थानीय तहमा महिला सहभागिता अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवान, पार्टी सचिव इम्तियाज आलम, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ता, अतिथि अनिल सिंह र प्रकाश उपाध्याय तथा नेपाल महिला संघकी केन्द्रीय सदस्य किरण सरकारसहित पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा राष्ट्रिय सभा सदस्य धर्मेन्द्र पासवानले महिलाहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको उल्लेख गर्दै पार्टी निर्माणमा नेपाल महिला संघले खेलेको भूमिकाको उच्च प्रशंसा गरे। उनले लोकतन्त्र, समावेशिता र सामाजिक न्यायको रक्षा गर्न महिलाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा महिला संघलाई अझ संगठित, सशक्त र क्रियाशील बनाउँदै लैजानुपर्नेमा जोड दिए।
त्यस्तै, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले पार्टी संगठन विस्तारमा महिला संघको योगदान महत्वपूर्ण रहेको बताए। स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नीति, सिद्धान्त र विचार जनतामाझ पुर्याउन महिला संघले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एकताबद्ध भएर उम्मेदवार अनिल रुङटालाई विजयी बनाउन कार्यकर्तालाई आह्वान गरे।
प्रमुख अतिथि तथा उम्मेदवार अनिल रुङटाले पार्टीलाई निर्वाचनमा सफलता दिलाउन महिला संघको सशक्त भूमिका निर्णायक हुने धारणा राखे। उनले महिलाको हक–अधिकार, शिक्षा, स्वास्थ्य तथा रोजगारीका क्षेत्रमा ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता जनाउँदै जनताको विश्वास जित्ने खालको उत्तरदायी राजनीति आवश्यक रहेको बताए।
नेपाल महिला संघ पर्साकी सभापति किरण शर्माको अध्यक्षतामा आयोजित बैठकले आगामी दिनमा नेपाल महिला संघलाई अझ सक्रिय र प्रभावकारी बनाउँदै पार्टी संगठनलाई थप मजबुत बनाउने निष्कर्ष निकालेको छ।

