34.1 C
Birgunj
Date
मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
spot_img

पर्सा: चारै क्षेत्रमा चुनावी दौडधुप, उम्मेदवार घरदैलो अभियानमा व्यस्त

वीरगंज,१४ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्लामा चुनावी माहोल तातेको छ । जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १०९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा रहेका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका चार सिटका लागि दलगत र स्वतन्त्र गरी १०९ जना उम्मेदवारहरु चुनावी दौडधुमा व्यस्त छन् । उम्मेदवारहरु अहिले जनताको घरदैलोमा पुगी मतदाताहरुको समस्या सुन्नदेखि विकासका ठूलठूला आशाहरु बाँड्न थालेका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा ३० जना उम्मेदवार चुनावी मैदानमा छन् । उनीहरुले अहिले आफ्‌नो क्षेत्रको मतदाताहरुसँग भेटघाट, छलफलमा व्यस्त छन् । यस क्षेत्रमा प्रमुख दलबीच कडा प्रतिस्पर्धा देखिएको छ । नेकपा एमालेबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादव, नेपाली कांग्रेसबाट पूर्वसांसद तथा केन्द्रीय सदस्य अनिल रुङ्गटा, जनता समाजवादी पार्टीबाट रामनरेस प्रसाद यादव, नेपाली कम्युनिष्ट पार्टीबाट अजयकुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त, उज्यालो नेपाल पार्टीबाट रामकिशोर सिंह पराग, श्रम संस्कृति पार्टीबाट वासिम शेख, जनमत पार्टीबाट ओमप्रकाश सर्राफ लगायतका उम्मेदवारहरु चुनावमा उत्रिएको कारण यस क्षेत्रमा कडा भीडन्त हुने देखिन्छ । अहिले सबै उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगी आफ्‌नो पक्षमा मत हाल्न आग्रह गरि रहेका छन् ।

यसैगरि क्षेत्र नम्बर २ बाट चुनावी मैदानमा उत्रिएका सबैभन्दा बढी ३२ जना उम्मेदवारहरु चुनावी प्रचार प्रसार अभियानलाई तीब्र पारेका छन् । यस क्षेत्रलाई पर्साकै सबैभन्दा चासोपूर्ण क्षेत्रका रूपमा हेरिएको छ । नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद अजयकुमार चौरसिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वीरगंज महानगरपालिका वडा नं. १० का निवर्तमान वडाध्यक्ष सुशील साह कानु चुनावी मैदानमा उत्रिएका कारण कडा भीडन्त हुने संकेत देखिन्छ । चौरसिया ३ पटक सांसद निर्वाचित भइसकेका छन् भने कानु स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित व्यक्ति हुन् । उनी २०७९ मा जनता समाजवादी पार्टीबाट वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्षमा निर्वाचित जनप्रतिनिधि थिए ।

निर्वाचित सांसददेखि जनप्रतिनिधिहरु चुनावी भीडन्तमा उत्रिएको कारण यस क्षेत्रको निर्वाचन रोचक बनेको छ । उनी लगायत जनता समाजवादी पार्टी नेपालबाट उद्योगपति अशोक टेमानी, नेकपा एमालेबाट रिमा यादव र राप्रपाबाट पूर्वसांसद विना कुमारी जैसवाल पनि चुनावी मैदानमा उत्रिएका छन् । यस क्षेत्रम उम्मेदवारबीच कडा भीडन्त हुने संकेत देखिएको कारण उम्मेदवारहरु अहिले चुनावी प्रचार प्रसार अभियानमा व्यस्त छन् । मतदाताहरुको घरदैलोमा पुगेर भेटघाट, छलफल तथा सभा जस्ता कार्यक्रमलाई व्यापकता दिएका छन् ।

यसरी नै क्षेत्र नम्बर ३ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका २३ जना उम्मेदवारहरु चुनावी प्रचारप्रसार अभियानमा व्यस्त छन् । नेपाली कांग्रेसबाट पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेकपा एमालेबाट व्यवसायिक पृष्ठभूमिका रुपेश पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्माण व्यवसायी पृष्ठभूमिका रमाकान्त चौरसिया र नेपाली कम्यनिष्ट पार्टीबाट छोटेलाल यादव लगायतका उम्मेदवारहरु अहिले आफ्‌नो क्षेत्रको मतदाता रिझाउनमा व्यस्त छन् ।

त्यसैगरि क्षेत्र नम्बर ४ बाट चुनावी मैदानमा उत्रिका २४ जना उम्मेदवारहरु पनि घरदैलो कार्यक्रममा व्यस्त छन् । नेपाली कांग्रेसबाट पूर्वमन्त्री तथा निवर्तमान सांसद रमेश रिजाल, नेकपा एमालेबाट जालिम मियाँ अन्सारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारु लगायतका उम्मेदवारहरु चुनावी प्रचारप्रसार अभियानमा अहोरात्र खटिएका छन् ।

यस पटकको निर्वाचनमा पर्सामा चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, नयाँ राजनीतिक दल र ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारको सहभागिताले निर्वाचनलाई अत्यन्त रोचक, बहुपक्षीय र अनिश्चित बनाएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार परम्परागत दलहरूलाई रास्वपा जस्ता नयाँ दल र स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिइरहेका छन् । यसले मत विभाजन बढ्ने र अन्तिम परिणामसम्म कडा प्रतिस्पर्धा हुने संकेत गरेको छ । उम्मेदवारहरु चुनावी प्रचार–प्रसारलाई तिब्रता दिन घरदैलो, सभा, कोणसभा र सामाजिक सञ्जालमार्फत मतदातालाई आफ्नो पक्षमा पार्न सक्रिय छन् ।

चारवटै क्षेत्रमा उम्मेदवारको उल्लेखनीय भीड देखिँदा यसपटकको निर्वाचनलाई पर्सामा अहिलेसम्मकै सबैभन्दा प्रतिस्पर्धात्मक मानिएको छ । चार पूर्वमन्त्री, निवर्तमान सांसद, पूर्वसांसद, ठूला दलका प्रभावशाली नेता, नयाँ राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारको उपस्थितिले पर्साको चुनावलाई विशेष अर्थमा हेरिएको छ ।

Stay Connected
152,000FansLike
126,275FollowersFollow
61,453SubscribersSubscribe
Must Read
सम्बन्धित खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here