१४ माघ बारा,
बाराको परवानीपुर गाउँपालिका बाड नम्बर १ रहरियाडीमा आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्याको घटनामा बुहारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
हत्याको घटनाको अनुसन्धानका क्रममा मृतक रामेश्वर मण्डलकी अन्दाजी २५ वर्षीया श्रीमती मनिता देवी मण्डललाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको बाराका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
एसपी कुँवरका अनुसार आज बिहान करिब ३ बजे अज्ञात व्यक्तिले घरमा पसी धारिलो हतियार प्रयोग गरी ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल ´आमा` र २८ वर्षीय रामेश्वर मण्डल ´छोरा` को हत्या भएको हो।
घटनामा ५२ वर्षीय जगरुप मण्डल ´बुवा` र २२ वर्षीया रिना कुमारी मण्डल गम्भीर घाइते भएका हुन। घाइते दुवैको बाराको परवानीपुरस्थित नौतन ५ मा रहेको एल.एस. न्युरो एन्ड जेनरल होस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
हत्या कसले र किन गरेको हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी बारा जनाएको छ।

