वीरगंज,१३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। उम्मेदवारहरू मतदाता भेटघाट, संगठन परिचालन र प्रचार अभियानमा सक्रिय भएपछि यस क्षेत्रको चुनावी माहोल थप गर्मिँदै गएको हो।
पर्सा सदरमुकामदेखि पश्चिमी भेगमा फैलिएको यस क्षेत्रमा शहरी मतदाता, उद्योगी–व्यवसायी, मजदुर तथा मध्यम वर्गको उल्लेख्य उपस्थिति छ। करिब ९५ हजार मतदाता रहेको यस क्षेत्रमा विगतमा वामपन्थी र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो। यसपटक भने नयाँ र पुराना उम्मेदवारहरूको उपस्थितिले बहुपक्षीय प्रतिस्पर्धाको संकेत देखिएको छ।
कांग्रेस: अनुभव र परम्परागत मत बैंकको भरोसा
नेपाली कांग्रेसले अनुभवी नेता रमेश रिजाललाई उम्मेदवार बनाएको छ। पार्टी संगठन, स्थानीय तहसम्मको पहुँच र परम्परागत मत बैंक कांग्रेसका मुख्य शक्ति हुन्।
छ दशकभन्दा बढी समय राजनीतिमा सक्रिय रिजाल २०४८ सालदेखि अहिलेसम्म आठ पटक चुनावी मैदानमा उत्रिएका छन्। उनले २०७९ सालको निर्वाचनमा एमालेका जालिम मियाँ मन्सुरीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उद्योग मन्त्रीसमेत भइसकेका रिजाल कांग्रेसको पुरानो नेतृत्वका रूपमा चिनिन्छन्।
तर पार्टीभित्रको गुटगत राजनीति, आन्तरिक असन्तुष्टि र युवा मतदातामा देखिएको परिवर्तनको चाहनाले कांग्रेसका लागि चुनौती पनि उत्तिकै देखिन्छ।
एमाले: संगठनात्मक शक्ति र बुथस्तरको सक्रियता
नेकपा एमालेले संगठनात्मक बल र अनुशासित कार्यकर्तालाई आधार मानेर जालिम मियाँ मन्सुरीलाई उम्मेदवार बनाएको छ। शहरी क्षेत्रसँगै मजदुर र निम्न आयवर्गमा एमालेको प्रभाव देखिन्छ।
मन्सुरी लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनी २०७४ सालमा नेकपा माओवादीबाट जगरनाथपुर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने २०७८ सालमा एमाले प्रवेश गरेका हुन्। २०७९ सालको निर्वाचनमा उनी कांग्रेसका रिजालसँग पराजित भएका थिए।
यदि चुनाव कांग्रेस–एमालेको सिधा प्रतिस्पर्धामा सीमित रह्यो भने एमालेको संगठनात्मक सक्रियताले कांग्रेसलाई कडा चुनौती दिने अनुमान गरिएको छ।
नेकपा र रास्वपा: तेस्रो शक्तिको उदय?
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार जयप्रकाश थारू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यप्रति मतदाताको चासो बढ्दै गएको छ।
जिराभवानी गाउँपालिका निवासी जयप्रकाश थारू स्थानीय राजनीतिमा स्थापित नेता मानिन्छन्। उनले २०६४ सालमा एमालेबाट संविधानसभा चुनाव लडेका थिए भने २०७० सालमा विजयी हुँदै जिल्लास्तरीय राजनीतिमा पहिचान बनाएका थिए।
रास्वपाका उम्मेदवार शाक्य सुशासन र परिवर्तनको एजेन्डालाई अघि सार्दै युवा र शिक्षित मतदातालाई आकर्षित गर्ने प्रयासमा छन्।
जसपा र अन्य दल: मत विभाजनको सम्भावना
जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार कृपासिन्धु चौधरीको उम्मेदवारीले कांग्रेसको मत संरचनामा प्रभाव पार्ने आँकलन गरिएको छ। कांग्रेस पृष्ठभूमिबाट राजनीति सुरु गरेका चौधरी पूर्व क्याम्पस प्रमुख तथा राष्ट्रिय योजना आयोगका पूर्व सदस्यसमेत हुन्।
यसैगरी श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चनसहित अन्य दलका उम्मेदवारको उपस्थितिले पर्सा–४ मा मत विभाजनको सम्भावना बढाएको छ।
रोचक र निर्णायक भिडन्त
पुराना अनुभवी नेतासँगै नयाँ उम्मेदवारहरूको प्रतिस्पर्धाले पर्सा–४ को चुनावी भिडन्त रोचक र निर्णायक बन्दै गएको छ। कांग्रेस–एमालेको परम्परागत प्रतिस्पर्धा, नयाँ दलहरूको उदय र मत विभाजनको सम्भावनाले यस क्षेत्रको निर्वाचन परिणामलाई अनिश्चित बनाएको छ।

