वीरगंज,१३ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ। एमाले, कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल, जनमत पार्टी, राप्रपा लगायत विभिन्न दलका उम्मेदवार मैदानमा उत्रिँदा यस क्षेत्रको चुनावी माहोल थप रोचक बन्दै गएको छ।
नेकपा एमालेले पूर्व मन्त्री तथा निर्वतमान प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई पुनः उम्मेदवार बनाएको छ। यादव मनोनयन दर्ताको एक दिनअघि जनता समाजवादी पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए। उनी अघिल्लो निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट विजयी भएका थिए।
नेपाली कांग्रेसले संविधान सभा सदस्य तथा उद्योगपति अनिल रुंगटालाई उम्मेदवार बनाएको छ। रुंगटा यसअघि पनि कांग्रेसबाट उम्मेदवार बनेका थिए, जहाँ उनी हालका एमाले उम्मेदवार यादवसँग पराजित भएका थिए।
प्रचण्ड र माधव नेपाल नेतृत्वको नेकपाले सिए अजय चौरसियालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति तथा होटल व्यवसायी हरि पन्तलाई उम्मेदवार बनाएको छ। जनता समाजवादी पार्टी नेपालले जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाएको छ।
उज्यालो नेपाल पार्टीबाट वीरगंज महानगरपालिका वडा नम्बर २० का निर्वतमान वडाध्यक्ष रामकिशोर सिंह (पराग), जनमत पार्टीबाट जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नन्दु श्रीवास्तव उम्मेदवार बनेका छन्।
यसैगरी आम जनता पार्टीबाट विश्वराज पटेल, श्रम सांस्कृतिक पार्टीबाट वषिम शेष तथा पिपुल फस्ट पार्टीबाट जावेद एकवाल हैदर पनि चुनावी मैदानमा उत्रिएका छन्।
अघिल्लो निर्वाचनमा एमाले–जसपा गठबन्धनका तर्फबाट प्रदिप यादव विजयी भएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय द्विवेदी स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा थिए। यसपटक प्रमुख दलहरू अलग–अलग रूपमा प्रतिस्पर्धामा उत्रिँदा पर्सा–१ को चुनावी प्रतिस्पर्धा थप तीव्र र अनिश्चित बन्दै गएको छ।

