काठमाडौं,११ माघ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा उल्लेखनीय रूपमा बढ्दै ३० करोड २५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको सशक्त वृद्धिका कारण बैंकको नाफामा उल्लेखनीय सुधार देखिएको हो। दोस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी १८.४९ प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड ८० लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी १९.४६ प्रतिशतले बढेर १ अर्ब २५ करोड ७२ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा ५९.३३ प्रतिशतले उक्लिँदै ४५ करोड १३ लाख रुपैयाँ कायम भएको छ।
यस अवधिमा बैंकको खराब कर्जा अनुपात भने १.८८ प्रतिशत बिन्दुले बढेर ६.८७ प्रतिशत पुगेको छ। पुस मसान्तसम्म बैंकले ५४ अर्ब ३९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब ४० करोड ८३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिमा बैंकको वितरणयोग्य नाफा ९ करोड ४६ लाख रुपैयाँ रहेको छ, जसका आधारमा लाभांश क्षमता ५.०७ प्रतिशत देखिन्छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ७३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८९ करोड ३३ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९ करोड ४६ लाख रुपैयाँ सञ्चित रहेको छ।
वित्तीय सूचकांकतर्फ हेर्दा बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसाले बढेर १६ रुपैयाँ २१ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ २४ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात २४.७८ गुणा रहेको छ। समीक्षा अवधिमा बैंकको आधार दर ६.१७ प्रतिशत र कर्जा–निक्षेप अनुपात ८३.५५ प्रतिशत रहेको छ।

