वीरगंज,११ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पर्सा निर्वाचन क्षेत्र नं. १ र २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूले शनिबार आयोजित क्षेत्रीय भेलाहरूमा वर्तमान राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गर्दै जनताको हकअधिकार, जेनजी आन्दोलन र प्रणालीगत सुधारलाई चुनावी एजेन्डाको केन्द्रमा राख्ने बताएका छन् ।
पर्सा क्षेत्र नं. १ का उम्मेदवार सि.ए. अजय चौरसियाले आफू विगतदेखिनै शोषित, पीडित तथा मधेसका उत्पीडित वर्गको पक्षमा निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै निर्वाचनको समयमा विभिन्न किसिमका प्रलोभनमा नपरी सही र योग्य उम्मेदवार छनोट गर्न मतदातासँग आग्रह गरे । उनले शिक्षित युवा उम्मेदवारका रूपमा उच्च मनोबलका साथ जनताबीच जाने प्रतिबद्धता जनाउँदै जनताको हकअधिकारका लागि निरन्तर लडिरहने बताए ।
चौरसियाले आफू निर्वाचित भएर प्रतिनिधि सभामा पुगे जनताका समस्या समाधानका लागि नीतिनियम सुधारमा सक्रिय भूमिका खेल्ने स्पष्ट पार्दै शिक्षा, रोजगारी र सामाजिक न्यायका सवाललाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे ।
उता पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले वर्तमान राजनीतिक नेतृत्वकै कारण देशमा जेनजी आन्दोलन जन्मिएको दाबी गर्दै त्यसले मुलुकलाई ठूलो क्षति पुर्याएको बताए । उनले हाल निवर्तमान सांसद नै मन्त्री रहेको सरकारप्रति संकेत गर्दै त्यही व्यक्ति र दल पुनः सत्तामा पुगे देश अझ ठूलो दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए ।
चौधरीले नेकपाले मात्र जेनजी आन्दोलनका मागहरू पूरा गर्न सक्ने दाबी गर्दै नेकपाका उम्मेदवारलाई चुनाव चिन्ह ‘तारा’ छापमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरे । उम्मेदवारहरूले दुबै भेलामा पार्टी संगठनलाई अझ मजबुत बनाउँदै जनताको विश्वास जित्न एकताबद्ध भएर चुनावी मैदानमा होमिनुपर्नेमा जोड दिएका थिए ।
यसै क्रममा, पर्सा निर्वाचन क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य बाबुराम कौशिकको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ, जसको सह–संयोजकमा राजकुमार घिमिरे रहेका छन् ।
त्यस्तै, पर्सा निर्वाचन क्षेत्र नं. २ मा सम्पन्न भेलाबाट केन्द्रीय सदस्य रामचन्द्र साहको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ भने समितिको सह–संयोजकमा विपिन यादव रहेका छन् । दुवै भेलामा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

